Banner news

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट,अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट,अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश हुने


हरेक केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं -जेन जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीनदिनसम्म चल्नेछ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रष्तुत गर्नुहुनेछ । प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषयमा समेटिने छन् ।

यसैगरीअलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको,सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको बिषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।

गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।

अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

54
Shares