बिर्तामोड । नेकपा एमालेको वडा स्तरीय जनजागरण सभा भव्य रुपमा सम्पन्न भएको छ । बिर्तामोडका १० वटैं वडाहरुमा जनजागरणसभा उत्साहपूर्वक सम्पन्न भएको नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
उनका अनुसार जनजागरणसभाले नेता कार्यकर्ताहरुलाई उत्साहित बनाएको छ । लोकतन्त्रको जगेर्ना, आन्तरिक एकता र भ्रमहरु चिर्नका लागि वडा वडा तहमा अभियान सञ्चालन गरिएको उनको भनाई छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले समाजमा अझै त्रास कायम रहेकोले मजबुद एकता गरेर अघि बढ्न वडा तहसम्म कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

हरेक वडामा स्थानीय नेतृत्वबाट पछिल्लो परिस्थितिको बारेमा अवगत गराउने काम भएको र पार्टीको आगामी कार्ययोजनाबारे छलफल गरिएको नेता भट्टराईले जानकारी दिए । पार्टी विरुद्ध छरिएको भ्रम चिदैं राष्ट्रबादीहरु अराजकताका विरुद्ध लाग्नुपर्ने बताउँदै नेताहरुले वडा तहसम्म प्रशिक्षित गरेको बताइएको छ ।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोगबाट सचेत हुनुपर्ने र संविधान विरोधीहरुलाई सधैं खवरदारी गर्नुपर्ने जनजागरणसभामा नेताहरुले धारणा राखेका छन् । अधिकांश वक्ताहरुले मुलुकलाई निकास दिन संवैधानिक बाटोबाट मात्रै संभव हुने बताए । संसद् पुर्नस्थापित गरेर मुलुकलाई निकास दिन तल्लो तहबाट दवाव जरुरी रहेको बताइएको छ ।
बिर्तामोडसहित पार्टीले देशभर वडामा जागरणसभा सञ्चालन गरेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । हरेक वडामा जनजागरण कार्यक्रम अन्तर्गत रचनात्मक कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । हल्दिवारीमा एमालेले धान काटेर सहयोग गर्दै जागरण कार्यक्रम गरेको गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।







प्रतिक्रिया