काठमाडौं । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ ।
यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको यो हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् ।
आइतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ एक जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना गम्भीर घाइते भएको बताए ।
प्रदर्शनकारी घाइते
आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ ।
प्रदर्शनकारीहरूको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भने, “युवकको दाहिने हातका ‘केही औँला’ मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ एक जनाको हातमा चोट लागेको बताएको छ, तर कुनै औँला गुमाएको छैन ।
फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका एक जनाको तस्बिर पनि प्रकाशित गरिएको छ ।








प्रतिक्रिया