झापा । झापामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीमाथि निर्घात कुटपिट गर्ने, आगजनी, तोडफोड गर्नेहरुलाई प्रमाणका आधारमा पक्राउ गरिरहेको झापा प्रहरीले जनाएको छ ।
गत भदौं २४ गते दिउँसो ४ बजेको समयमा झापाको दमक नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय दमक कार्यालयमा तोडफोड, आगजनी, लुटपाट गर्ने व्यक्तिलाई शनिवार पक्राउ गरिएको छ ।
पाँचथर मिक्लाजुङ गाउँपालिका–५ स्थायी वतन भई हाल दमक नगरपालिका–१ बस्ने २१ बर्षीय साजन लुहागुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमक झापामा तोडफोड गरेको भिडियो, फोटोहरुको आधारमालाई उनलाई पक्राउ गरिएको हो ।

उनले प्रयोग गर्ने मोवाईलमा उनले चलाउने टिकटकमा अपलोड गरिएको भिडियोका आधारमा पक्राउ गरिएको हो । भिडियोमा इलाका प्रहरी कार्यालयमा आगो लगाउदै गरेको, गोली बोकेको भिडियोहरु तथा फोटोहरु समेतको आधारमा खोजतलास गर्ने क्रममा दमक–५ बाट पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ गरिएक उनलाई आइतवार जिल्ला अदालत झापाबाट अपराधिक उपद्रव कसुरमा ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवक पक्राउ परेका छन् । शनिबार साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार मीनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेका थिए । यसअघि इप्रका बिर्तामोडमा आक्रमण गर्ने एक दम्पतीसहित चार जना पक्राउ परिसकेका छन् ।







प्रतिक्रिया