केशव मैनाली
प्रकाशको उज्यालो पछिको उज्यालो भनेको शिक्षा हो । शिक्षा अध्ययनबाट आर्जन गरिन्छ र शिक्षाले नै संसार नियाल्नको लागि मद्दत गर्दछ । विद्यालयबाट प्राप्त गरिने शिक्षाको अलावा स्वअध्ययन र अनुभव शिक्षा प्राप्त गर्ने आधार हुन् । विश्व समुदायमा श्रव्य दृश्यका सामग्रीको विकास भएपछि पुस्तक पढ्ने बानीमा केही न्यूनता आएको छ । यद्यपि पाठ्य सामग्रीको मुख्य केन्द्र भनेको पुस्तक नै हो ।

पठन संस्कृतिको विकास गर्नको लागि ‘पढौँ अघि बढौँ’ भन्ने मुख्य उद्देश्य लिएर झापाका १०० भन्दा बढी संस्थाको सामुहिक अभियानमा पठन संस्कृति वर्ष २०२६ मनाउन लागिएको हो ।
हरेक मानिसको व्यक्तित्व विकास गर्नको लागि पढ्न जरुरी छ । पुस्तक पढेर कुनै न कुनै नयाँ अनुभव हासिल गर्न सकिन्छ भन्ने कुरामा अभिप्रेरित गर्ने हेतुले झापामा स्थानीय स्तरमा विभिन्न संघसंस्थाहरूले विभिन्न खालका साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहेता पनि यसरी टुक्राटुक्रा कार्यक्रमले झापा जिल्लाको पठन संस्कृतिलाई व्यापक रूपमा र शिघ्र वृद्धि गर्न सम्भव नहुने देखिएकोले झापाका विभिन्न सक्रिय सामाजिक संघसंस्था व्यवसायिक संघसंस्थाहरूको संयुक्त पहलको लागि आह्वान गरिएको हो ।
अभियानका लागि अभियन्ता मार्फत हामीले यो जिम्मेवारीलाई पूरा गर्ने लक्ष्यसहित विभिन्न संस्थाहरुसँग समन्वय गरि यो कार्यक्रमको योजना बनाएका हौं । यसरी सबैले आआफ्नो संघसंस्थाको वार्षिक कार्यक्रमहरूमा पठन संस्कृति अभिवृद्धि गर्ने कार्यक्रमलाई समावेश गरी संयुक्त रुपमा हामीले झापा जिल्लाको पठन संस्कार र संस्कृति निर्माण गर्दै र यसको दीगो व्यवस्थापन गर्न सफल हुनेछौं भन्ने दृढ़ अठोट सहित पठन संस्कृति वर्ष २०२६ को औपचारिक घोषणा कार्यक्रमको अवधारणा ल्याइएको हो ।
‘पठन संस्कृति वर्ष २०२६’ कार्यक्रम-अभियान सामाजिक र शैक्षिक रूपमा पठन संस्कृति (पढ्ने रूचि) फैलाउनका लागि आयोजना-घोषणा गरिएको हो । मुख्य रूपमा यसका केही प्रमुख उद्देश्य र कारणहरू यस प्रकार छन् :
कार्यक्रम किन गरियो ?
१. पठन संस्कृतिको प्रवद्र्धन — सन् २०२६ भरी समुदायमा पढ्ने-शिक्षा-साहित्य सम्बन्धी गतिविधि, सन्देश र चेतना फैलाउन । यसबाट मानिसहरूमा पठन को चेतना र बानीको विकास गराउन ।
२. समाजको बौद्धिक विकास — पढाई र ज्ञानलाई सामाजिक रूपान्तरणको आधार मान्दै समाजलाई बौद्धिक, समाज–सचेत र सिर्जनशील बनाउने चाहनाले यस कार्यक्रमको आयोजना गरिएको हो ।
३. साझा-सरकारी कार्यक्रमको रूपमा अघि बढाउने — अभियानलाई सामाजिक संघ–संस्थाहरूको सहकार्यमा मात्र नभई सम्भवतः सरकारी कार्यक्रमको रूपमा पनि स्थापना गर्ने प्रयास गरिनेछ ।
४. सर्जनात्मक तथा सहभागितात्मक कार्यक्रमहरू सञ्चालन — साहित्यिक गोष्ठी, पठन अभियान, विद्यालयस्तरीय लेखन-पठन, सार्वजनिक वाचन लगायतका गतिविधिहरू गरिनेछ ।
कार्यक्रमको घोषणा कहाँ-कहिले ?
कार्यक्रम झापाको बिर्तामोडको होटेल ह्यावन ग्राण्डमा पौष १४ गते सोमबार आयोजित कार्यक्रममा घोषणा गर्न लागिएको हो । जहाँ १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यवसायिक संघसंस्थाहरूको सहभागिता रहने छ ।
कार्यक्रमको मुख्य अंश
गीत-कविता-गजल वाचन, दुई पुस्तकको विमोचन (उपन्यास दिगो समाधान र इतिहास ग्रन्थ त्यो झापा) हुनेछ ।
पठन संस्कृतिको महत्व : वक्ता – केदार शर्मा
सामाजिक अभियानको महत्व : वक्ता – महेन्द्र गिरी
झापाको इतिहासको विवेचना : वक्ता – लिला उदासी







प्रतिक्रिया