पुर्ण राना
नेकपा एमालेमा एउटै घरका तीन जना केन्द्रमा निर्वाचित हुनु कुनै संयोग मात्र होइन । यो लामो समयको निरन्तर संघर्ष, त्याग, निष्ठा र संगठनप्रतिको अटुट समर्पणको परिणाम हो । केवल “एउटै घरका” भन्ने संकुचित सोचले आलोचना गर्नु न त न्यायोचित हुन्छ, न त वस्तुनिष्ठ नै । राजनीति वंशको होइन, क्षमता, योगदान र जनविश्वासको हो भन्ने तथ्यलाई यस घटनाले स्पष्ट रूपमा प्रमाणित गरेको छ ।

उनीहरू निर्वाचित भएपछि विरोधीको बोली बन्द हुनु स्वाभाविक हो । किनभने जनताले र पार्टीले उनीहरूको मूल्याङ्कन संघर्ष र कर्मका आधारमा गरिसकेका छन् । अहोरात्र पार्टी संगठनका लागि लाग्नु, न भोकको परवाह, न तिर्खाको चिन्ता, न निजी सुख–सुविधाको लोभ–यी सबै त्यागका उदाहरण हुन् । दिनरात, घामपानी, सुख–दुःख केही नहेरी पार्टीको झण्डा उठाइरहनु सजिलो काम होइन । यो त केवल अटल सोच, नडग्मगिने विचार र अधम्य शक्तिले मात्र सम्भव हुने कुरा हो ।
तीनै जनाको आफ्नै–आफ्नै संघर्ष छ, आफ्नै कथा छ । संघर्षका ती क्षणहरू, जब बाटो काँडाले भरिएको थियो, जब साथ दिनेभन्दा हाँसो उडाउने धेरै थिए, जब असफलता, अपमान र पीडाले मन र आँखालाई भिजाउँथ्यो—ती क्षणका रोदनहरू आज सफलता र सम्मानमा रूपान्तरित भएका छन् । उनीहरू कसैको छायाँमा होइन, आफ्नै पसिनाले, आफ्नै आँसु मिसिएको संघर्षबाट यहाँसम्म आइपुगेका हुन् ।
पार्टीले उनीहरूमाथि गरेको विश्वास आकस्मिक होइन । त्यो विश्वास वर्षौंको निष्ठा, अनुशासन, संगठन विस्तारमा देखाएको सक्रियता र कठिन समयमा पनि नढल्ने साहसको प्रतिफल हो । एउटै घरमा भए पनि विचार, जिम्मेवारी र संघर्षको बाटो आ–आफ्नै थियो । तर लक्ष्य एउटै—पार्टी र जनताको सेवा ।
यसैले, एउटै घरका तीन जना केन्द्रमा निर्वाचित हुनु अस्वाभाविक होइन, बरु स्वाभाविक र गर्व गर्न लायक कुरा हो । जहाँ संघर्ष बोल्छ, त्यहाँ आलोचना मौन हुन्छ । जहाँ कर्म बोल्छ, त्यहाँ संकुचित सोच स्वतः पराजित हुन्छ । यो घटनाले के सन्देश दिन्छ भने—राजनीतिमा स्थान वंशले होइन, निरन्तर संघर्ष, त्याग र जनविश्वासले निर्धारण गर्छ । एमालेको केन्द्रीय सचिव हिक्मत कार्की, केन्द्रीय सदस्य दिपक कार्की र आयोगको सदस्य लीला कट्टेलप्रति हार्दिक सम्मान । जनताप्रति तपाईहरुको सेवा रहिरहोस् ।







प्रतिक्रिया