बिर्तामोड । जेनजी युवाले बिर्तामोडमा तत्काल फोहोर उठाउन ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय फोहोर व्यवस्थापन अस्तव्यस्त बनेपछि जेन्जी झापाका युवाहरुले बिर्तामोड नगरपालिकालाई कडा चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्र मुख्य ढोकामा टाँसेको जेनजी अगुवा मनोज कडरियाले जानकारी दिए ।

नगर क्षेत्रमा जताततै फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको र संक्रामक रोगको जोखिम बढेको भन्दै जेनजी युवाहरुले तत्काल सरसफाई हुनुपर्ने माग राखेका छन् । बजार, सडक र सार्वजनिक स्थानहरूमा लामो समयदेखि फोहोर नियमित रूपमा उठ्न नसक्दा सहरको सौन्दर्य बिग्रनुका साथै महामारी फैलिने खतरा उत्पन्न भएको उनको भनाई छ । प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोडको स्वच्छता कायम राख्नु नगरपालिकाको प्राथमिक दायित्व भए पनि जिम्मेवारी पूरा हुन नसकेको जेनजी झापाको ठहर छ ।
उनीहरुले थुप्रिएको फोहोर तत्काल उठाएर उचित व्यवस्थापन गर्न, संकलन प्रक्रियालाई नियमित र प्रभावकारी बनाउन तथा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि जोडदार माग गरेका छन् । उनीहरुले भविष्यमा यस्तो समस्या दोहोरिन नदिन दीर्घकालीन र प्रभावकारी फोहोरमैला व्यवस्थापन प्रणाली लागू गर्न समेत ध्यानाकर्षण गराएका छन् ।
नगरक्षेत्रको फोहोर तत्काल नउठाए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिदैं फोहोर व्यवस्थापनमा बेवास्ता गरिए जेनजी झापाको अगुवाइमा फोहोर संकलन गरेर नगरपालिकाको कार्यालयको गेट अगाडि ल्याएर राखिदिने जनाएका छन् ।








प्रतिक्रिया