मुख्य समाचार

जंगली हात्तीको आक्रमणबाट झापामा क्षति

जंगली हात्तीको आक्रमणबाट झापामा क्षति


झापा । झापाको विभिन्न स्थानमा जंगली हात्तीको हुल प्रवेश गरी घर तथा अन्नपातमा ठूलो क्षति पु¥याएको छ । बिहीवार राति झापा कमल गाउँपालिका–३ बगाने टोलमा तीनवटा जंगली हात्तीको हुल प्रवेश गरी स्थानीय गणेश बस्नेत (अन्दाजी ५२ वर्ष) को घरमा क्षति पु¥याएको हो ।

बाँसको टाटी बेराले बनेको टिनको छानो भएको भुइँघरमा आंशिक क्षति पु¥याउनुका साथै बाँसको टाटी बेरा र फुसको छानो भएको भान्सा घर पूर्ण रूपमा ध्वस्त बनाएको झापा प्रहरीले जनाएको छ । सोही घरभित्र रहेको ४ मन धान, ४ मन मकैको पिठो, लत्ताकपडा, भाँडावर्तन र खाटसमेत गरी करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, सोही राति झापा भद्रपुर नगरपालिका–७ डाँफेचोकमा जंगली हात्तीले स्थानीय ऋषी भट्टराईको ईँटा र टिनको छानो भएको एकतले पक्की घरको पूर्वतर्फको किचनको ईँटाको पर्खाल भत्काएको छ । उक्त घटनाबाट करिब २२ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

यस्तै, राति बिहान ४ बजेको समयमा झापा बिर्तामोड नगरपालिका–८ किशनभिट्टामा एक जंगली हात्ती प्रवेश गरी स्थानीय टंक बराइलीको टाटी बेरा र टिनको छानो भएको एकतले घरको टाटी भत्काएको थियो । हात्तीले भण्डार कोठाभित्र रहेको करिब ८ केजी धान र १ केजी चामल खाई करिब ४५ हजार रुपैयाँ बराबरको अन्न नष्ट गरेको र त्यसपछि जंगलतर्फ भागेको जनाइएको छ ।

लगातार जंगली हात्तीको प्रवेशबाट स्थानीयवासी त्रसित बनेका छन् । प्रभावित बासिन्दाले क्षतिपूर्तिको व्यवस्था तथा जंगली जनावर नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

शेयर गर्नुहोस :

135
Shares