बिर्तामोड । झापाको बिर्तामोडबाट नक्कली नागरिकता प्रकरणमा पक्राउ पप्पु ठाकुर र राजकुमार ठाकुरलाई सप्तरी प्रशासनको जिम्मा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको टोलीले बिहीवार बिर्तामोड – ३ स्थित दुर्गा मन्दिर नजिकैबाट शिवसताक्षी ८ बस्ने पप्पु ठाकुरलाई नियन्त्रणमा लिएको थियो ।

सरकारी छाप दस्तखत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाई प्रयोगमा ल्याई रहेको भन्ने सूचनाको आधारमा पप्पु ठाकुरलाई पक्राउ गरिएको थियो । उनको जिउ शरीर तलासी गर्दा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०७६ जेठ ५ गते राज कुमार ठाकुरको नाममा जारी भएको १६१०६३-३१५ नम्बरको शंकास्पद नागरिकता प्रमाण पत्र फेला परेको थियो ।
नगरिकतमा उल्लेखित व्यक्ति राज कुमार ठाकुरको बारेमा सोधपुछ गर्दा शिवसताक्षी नगरपालिका वडा नं. ८ गुम्बा टोलस्थित कोठामा रहेको भनि बताएपछि उनलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्रवार सप्तरी प्रशासनलाई बुझाइएको झापा प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाएको मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सप्तरी प्रहरीको हिरासतमा राखिएको छ ।







प्रतिक्रिया