Banner news

गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै

गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै छन् । दिउँसो २ बजे पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनका लागि परिपत्रसहित आह्वान गर्ने तयारी रहेको विशेष महाधिवेशनको अभियानमा रहेका राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईंले जानकारी दिए ।

यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्नेगरी तयारी अघि बढेको विशेष महाधिवेशन अभियनता देवराज चालिसेले जानकारी दिए । असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएर कार्यालयमा दर्ता गरेका थिए ।

तर, पुस १५मा केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट नियमित महाधिवेशनका लागि पुस २६–२८ को कार्यतालिका आएको थियो ।

विशेष महाधिवेशन अभियनता रमेश धमलाका अनुसार भृकुटीमण्डपस्थित हल, बगैंचा र पार्किङस्थल बुक भइसकेको छ । महाधिवेशनको जानकारीसहित सुरक्षा व्यवस्थापनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि खबर दिइसकेका छन् ।

तयारीका लागि धमलाकै नेतृत्वमा आवस समितिसहित १८ वटा समिति गठन भएका छन् । पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन भइसकेका छन् ।

त्यसबाहेक जिल्ला सम्पर्क, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालनसहितका समितिहरू बनाइएको सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए ।

शेयर गर्नुहोस :

162
Shares