झापा । चालू आर्थिक वर्ष ०८२-८३ को पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।
चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार ०८२ मङ्सिर महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । चालू आवको पाँच महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्ब ४३ करोड रुपैयाँ थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ थियो ।







प्रतिक्रिया