बिर्तामोड । न्यून वर्गीय परिवारले समेत उपचार गर्न सक्ने उद्देश्य राखेर निर्माण गरिरहेको नागरिक अस्पतालले आगामी बैशाखदेखि उपचार सेवा सुरु गर्ने भएको छ । नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेड बिर्तामोडले उपचार सेवा सुरु गर्न लागेको हो ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न पाँचौं साधारणसभामा अस्पताल सञ्चालनको तयारी बारे जानकारी गराइएको थियो । झापाको बिर्तामोड–४ स्थित हर्कलाल रोडमा निर्माण भइरहेको अस्पतालले सबै परिवारले उपचार गर्न सक्ने सुलभ मुल्य निर्धारण गरिने जनाइएको छ ।

अस्पताल सञ्चालनको लागि ११ कठ्ठा जमिन २५ बर्षको लागि भाडामा लिएर अस्पताल भवन निर्माणको काम भइरहेको छ । अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलका अनुसार भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । अस्पतालमा ३०० भन्दा बढी शेयर सदस्य बनेका छन् । शेयर सदस्य विस्तारको काम समेत भइरहेको छ ।
विशेषज्ञ डाक्टरको सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने योजना रहेको कार्यकारी प्रमुख पौडेलको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीले अस्पतालमा सञ्चालक तथा शेयर सदस्यहरुले उपचार गर्न बाहिर जान नहुने बताए । आफ्नो अस्पतालमा उपलब्ध नहुने सेवा बाहेक आफ्नै अस्पतालमा उपचार गरेर जान सके सबैको विश्वास जित्न सकिने धारणा व्यक्त गरे । हामी अन्य विरामीलाई आफ्नो अस्पतालमा उपचार गर्न भन्छौं, आफु चाँही बाहिरका अस्पताल गयौं भने गाह्रो हुन्छ, उनले भने ‘ अस्पताललाई सफल बनाउन आफ्नो र परिवारको उपचार आफ्नै अस्पतालमा गराउनुपर्छ । उनले सबै वर्गीय मान्छेहरुका लागि स्वास्थ्य सेवा दिन सुरु गरिएको अस्पताललाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व सह–सचिव डा. मुक्ति खनाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कोषाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रबिन्द्र भट्टराईले गरेका थिए ।







प्रतिक्रिया