शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाद्वारा आइतबार स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा आयोजित साधारणसभाले आर्थिक वर्ष ०८१-०८२ को वार्षिक लेखापरीक्षण अनुमोदन, आ . व.०८२-०८३ का लागि लेखापरीक्षक नियुक्ति , प्रस्तावित नीति तथा कार्यक्रम र बजेट माथि छलफल तथा अनुमोदन गर्दै सम्पन्न भएको हो ।
प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका –४ का वडाध्यक्ष अम्बर बहादुर कटुवालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष याम बहादुर दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार यस अर्जुनधारा नगरपालिकाका सम्पूर्ण कृषकहरुको रोजगारीको समस्यालाई मध्यनजर गरी उनीहरुको आर्थिकबृद्धि, जीवनस्तर उकास्ने अभिप्रायले यो संस्था स्थापना गरिएको हो । बेरोजगारी समस्या, गरीबी, प्राकृतिक प्रकोपको समस्या हुदाहुदै पनि सहकारीको अवधारणाद्वारा समुदायमा आवद्ध गराई विगत २०५७ सालदेखि नै औपचारिक रुपमा झापा जिल्ला सहकारी डिभिजन कार्यालयबाट चाँदनी बहुउद्देश्यीय सहकारी संस्था लि. नामद्वारा तत्कालीन समयका अध्यक्ष याम बहादुर दाहालको अध्यक्षतामा समिति गठन गरी सञ्चालन गर्दै आएको उल्लेख छ ।
संस्थामा हाल ७१८ जना शेयर सदस्य रहेको छ । जसमध्ये सञ्चालक समिति संख्या ८ जना छन् भने १ व्यवस्थापक ,१ जना कार्यालय सहयोगी ,१ जना बचत संकलन कर्ता र १ जना गाडी चालक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै व्यवस्थापक निर कुमार मगरले आव ०८१÷०८२ को आय व्यय विवरण तथा बजेट प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार व्याज आम्दानी १४ लाख ९१ हजार २ सय ८२ रुपैयाँ ,सञ्चालन आम्दानी ६९ हजार ५ सय ४९ रुपैयाँ र अन्य आम्दानी ५६ लाख ५३ हजार ३ सय ७८ रुपैयाँ र खर्चतर्फ ६९ लाख ३० हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।
०८२ असार मसान्तसम्मको बचत १ करोड १४ लाख १६ हजार ३ सय ९८ रुपैयाँ र शेयर पुँजी ३९ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । कर्जा लगानी असुली हुन बाँकी १ करोड १७ लाख ३१ हजार ४ सय ३१ रुपैयाँ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । लेखा समितिको तर्फबाट सदस्य तुलसी प्रसाद खतिवडाले लेखा समितिले तयार पारेको ०८१-०८२ को संस्थाको कारोबार प्रतिवेदन प्रस्तुत गरेका थिए ।सोही अवसरमा ज्येष्ठ सदस्य मनोरथ शिवाकोटी र असल ऋणी गोमा तिम्सिनालाई सम्मानपत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
अध्यक्ष दाहालको सभापतित्व र सचिव मणि भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि कटुवाल ,बिन्ध्याबासिनी सिंहदेवी मन्दिर समितिका अध्यक्ष मनोज जोशी , आयोजक संस्थाका निवर्तमान सचिव प्रेम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बसोधा घिमिरेले राखेकी थिइन् ।







प्रतिक्रिया