Banner news

बजार चलाउन मेला तथा महोत्सव आवश्यक

बजार चलाउन मेला तथा महोत्सव आवश्यक


बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले नेपालको उद्योग, व्यवसायको क्षेत्रलाई चलायमान गराउन उद्योग वाणिज्य संघहरुले कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाहरु लगाउन आवश्यक रहेको बताउनुभयो ।

झापा उद्योग वाणिज्य संघ झापाका कार्यवाहक अध्यक्ष राजकुमार राईको नेतृत्वमा झापाका उद्योगी व्यवसायी तथा राजनीतिकर्मी सहितको प्रतिनिधि मण्डलसँग भएको अन्तर सम्वाद कार्यक्रममा उहाँले यस्तो धारणा राख्नु भएको थियो । संघको नेतृत्वको प्रतिनिधि मण्डलले झापा उद्योग वाणिज्य संघले माघ ७ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागेको कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको सन्दर्भमा विराटनगरमा गरेको अन्तर सम्वादमा प्रदेश अध्यक्ष राउतले अहिले देशको विषम परिस्थितिको कारण उद्योग तथा व्यवसायहरु उठ्न नसकेको अवस्था रहेको बताउनुभयो ।

अध्यक्ष राउतले देशैभरि सुस्ताएको बजारलाई चलायमान गराउन उद्योग वाणिज्य संघहरुले आयोजना गर्ने व्यापार मेला तथा महोत्सवलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश लागि परेको जानकारी दिनुभयो । उहाँले कोशी प्रदेश सरकारले देखाएको सकृयताजस्तै संघीय सरकारले पनि आर्थिक गतिविधि बृद्धि गर्न सक्रियता देखाउनु पर्ने बताउनु भयो ।

सो अन्तर सम्वाद कार्यक्रममा प्रदेश सभाका सदस्यहरुद्वय भूमि राजवंशी तथा छविलाल चुडाल, कोशी प्रदेशका पूर्व सदस्य बसन्त वानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाँ, महासंघका पूर्व अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग संघका यमबहादुर श्रेष्ठ, झापा उद्योग वाणिज्य संघको विशिष्ठ सदस्य खड्ग बहादुर लिम्बू, महासचिव सुमन्त मैनाली, कोषाध्यक्ष पवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

81
Shares