बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हर्कलाल मार्गको बाँकी काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न लागिपरेको बताउनुभएको छ । निर्वाचनमा हर्कलाल मार्ग निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएका घिमिरेले बाँकी रहेको काम पनि सक्ने गरी लागिपरेको बताउनुभयो ।
मंगलवार बिर्तामोड नगरपालिकाको सभाहलमा उहाँले झापा क्षेत्र नं. २ बाट निर्वाचित भएदेखि हालसम्म गरेका विकास निर्माण एवम् सामुदायिक कार्यहरुको फेहरिस्त सार्वजनिक गर्नुभएको छ ।
सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी यही माघ ६ गते उम्मेदवारी मनोनयनको दिन परेकोले आफू उक्त मितिदेखि सभामुख नरहने भएकाले निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो कार्यवधिमा गरेको कामको विवरण पत्रकार सम्मेलन मार्फत सुनाउनु भएको हो ।

उहाँले यो अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा ३२३ वटा योजनाहरु समावेश गराई ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उक्त बजेटमध्ये हालसम्म ५० प्रतिशत बजेट कार्यान्वयन भएको र अरु हुने क्रममा रहेको पनि अवगत गराउनु भएको छ ।
यो अवधिमा आफ्नो प्रस्ताव, सहजीकरण एवम् योजनामा निर्वाचन क्षेत्रमा संघीय बजेटमार्फत ७६ किलोमिटर सडक कालोपत्रे भएको तथा बीचैमा अलपत्र रहेको करिब १४ किलोमिटर सडक निर्माणको कार्यले गति लिएको पनि उहाँले दावी गर्नुभएको छ । उहाँले विरिङ पुल निर्माण र घैलाडुब्बा–चम्पापुर जोड्ने पुलको काम समेत अघि बढेको जानकारी दिनुभएको छ ।
सभामुख स्वयमको उपस्थितिमा वा सचिवालयमार्फत् क्षेत्र नं. २ का २ हजार १२२ परिवारमा शोक समवेदना पत्र पठाएर सहानुभूति प्रकट गरेको, विपन्न परिवारका लागि २ हजार थान झुल वितरण गरेको, ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै लौरो प्रदान गरेको विषय पनि उहाँले प्रस्तुत गर्नुभएको छ ।
आफ्नो प्रस्तुतिपछि सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउँदै सभामुख घिमिरेले आफ्नो राजनीतिक भविष्य र उम्मेदवारीबारे समयले नै निर्णय गर्ने बताउँदै सभामुखको पदमा रहुन्जेल कुनै दलमा आबद्ध नभई स्वतन्त्र ढंगले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
सभामुख घिमिरेले विघटित प्रतिनिधि सभा पुनस्र्थापित हुनेमा आफू आशावादी रहेको धारणा राख्दै संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको रूपमा व्याख्या पनि गर्नूभएको छ ।
“भदौ २७ गते राति संसदलाई जबरजस्ती भंग गरिएको छ, जुन संविधान माथि प्रहार गर्ने काम हो । मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट संवैधानिक निकास संसद पुनस्र्थापना मार्फत नै सम्भव छ” सभामुखले प्रष्ट पार्नुभएको छ ।
अदालतबाट सकारात्मक फैसला आउनेमा आफू आशावादी रहेको बताउँदै पत्रकारले अब कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ भनी सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “भोलि संसद पुनस्र्थापनाको सम्भावना पनि छ, त्यसैले अहिले कुन क्षेत्रमा उठ्ने भन्ने सोच गरेको छैन ।”
सभामुखको पदमा रहुन्जेल कुनै राजनीतिक इच्छा राख्न नमिल्ने र तटस्थ भूमिका निर्वाह गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया