मुख्य समाचार

बिर्तामोडमा मोटरसाइकल–अटो ठक्करः एक युवतीको मृत्यु

बिर्तामोडमा मोटरसाइकल–अटो ठक्करः एक युवतीको मृत्यु


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित अदुवाखोला पुल छेउ पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

माघ ३ गते राति करिब १०ः५० बजे लक्ष्मीपुरबाट मुक्तिचौक तर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. ३ बस्ने २४ वर्षीय निरज कार्की र पछाडि सवार दमक नगरपालिका बस्ने २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका थिए । दुबैलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा सुजाता बुढाथोकीको उपचारकै क्रममा माघ ५ गते बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक निरज कार्कीको अवस्था मध्यम रहेको र उनको उपचार भइरहेको छ । दुर्घटनामा संलग्न अटो चालक अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने ३४ वर्षीय खेमराज खड्कालाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शव बीएण्डसी अस्पतालमै राखिएको छ ।

शेयर गर्नुहोस :

189
Shares