मुख्य समाचार

तेह्रथुम रास्वपामा विद्रोह, सामूहिक राजीनामा

तेह्रथुम रास्वपामा विद्रोह, सामूहिक राजीनामा


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र उम्मेदवार चयनलाई लिएर चर्किएको विवादले तेह्रथुममा उग्ररूप लिएको छ । बालेन शाह समूहका उम्मेदवारलाई केन्द्रले टिकट दिएपछि रास्वपाका जिल्ला कार्यसमितिसहित सबै स्थानीय तह र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । तेह्रथुममा दुई पालिका र चार गाउपालिका रहेका छन् ।

यसअघि अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई घण्टी चुनाव चिन्हका साथ साझा उम्मेदवार बनाउने आन्तरिक सहमति भएको थियो । तर, अन्तिम समयमा उक्त क्षेत्र बालेन शाहको समूहको भागमा परेपछि र बालेन समूहका ऋतुराज लिम्बूलाई टिकट दिइएपछि जिल्लाभरका नेता(कार्यकर्ताहरू केन्द्रको निर्णयविरुद्ध खनिएका हुन् ।

पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा बालेन समूहलाई टिकट दिनुलाई ुकेन्द्रको मनोमानीु र ुविधिमाथिको प्रश्नु भनिएको छ । राजीनामा पत्रमा भनिएको छ, ‘जिल्ला र प्रदेश समितिको भावना विपरीत बालेन समूहका व्यक्तिलाई अमुक ढंगले टिकट दिँदा तेह्रथुमको जनभावना र राजनीतिक सहमतिमा गम्भीर कुठाराघात भएको छ । यो निर्णयले पार्टीको विधि र पद्धतिलाई समेत चुनौती दिएको छ ।’

सामूहिक राजीनामा दिनेहरूमा जिल्ला कार्यसमिति सभापति ई.सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस। कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन् ।

जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूसँगै तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालले पनि पदबाट राजीनामा दिएका छन् ।

रास्वपा कोशी प्रदेशका महामन्त्री लाल विक्रम थापाले पनि बालेन समूहका उम्मेदवारहरू थपिएपछि जिल्लाहरूमा समस्या उत्पन्न भएको स्वीकार गरेका छन् । उनले पहिला सिफारिसमा परेका भन्दा फरक र बालेन समूहका उम्मेदवारहरू आएपछि तेह्रथुम लगायतका केही जिल्लाहरूमा असन्तुष्टि चुलिएको बताए ।

शेयर गर्नुहोस :

270
Shares