बिर्तामोड । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ४ मा नेकपा (एमाले) को तर्फबाट एलपी साँवाले आज मनोनयन दर्ता गर्ने भएका छन् । पार्टीले केन्द्रीय सदस्य मनोज ताम्लीको नाममा गरेको निर्णयलाई परिवर्तन गर्दै साँवालाई उम्मेदवार बनाएको छ ।
ताम्ली उम्मेदवार हुने निर्णय सार्वजनिक भइसकेपछि पार्टी सचिवालयले उम्मेदवार परिवर्तन गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई युवा नेता मनोज ताम्लीले पार्टीको हितलाई प्राथमिकता दिँदै स्वीकार गरेका छन् ।

पार्टी सचिवालयको निर्णयपछि आफू उम्मेदवार बन्ने कुरा सार्वजनिक भएपछि झापा–४ का मतदाता मात्र नभई देशविदेशमा रहेका शुभचिन्तक, युवा साथीहरू उत्साहित भएको अनुभूति गरेको ताम्लीले बताए । आफ्नो उम्मेदवारीले पार्टी मात्र होइन, स्वतन्त्र सोच राख्ने धेरै साथीहरूलाई पनि उत्साहित बनाएको उनले उल्लेख गरेका छन् ।
पार्टी नेतृत्वबाट उम्मेदवारी परिवर्तन गर्नुपर्ने जानकारी आएपछि उनले नेकपा एमालेको निर्णयलाई सम्मान गर्दै पार्टीको पक्षमा सदैव उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, “राजनीतिमा अवसर नपाउँदै पार्टी परित्याग गर्ने, अर्को पार्टीबाट उम्मेदवार बन्ने वा नेतृत्वमाथि दबाब सिर्जना गर्ने काम मबाट कदापि हुँदैन ।” उम्मेदवार परिवर्तनले आफूलाई अन्याय भएको अनुभूति भए पनि राजनीतिमा यस्ता घटना सामान्य हुने बुझेको उनले बताए ।
वर्तमान अवस्थामा मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै उनले देशको स्वाधीनता र सार्वभौमिकतामाथि चुनौती आएको आरोप लगाए । यसको मुख्य निशाना नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली भएको उनको भनाइ छ ।
“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले र अध्यक्ष ओलीको नेतृत्वको विकल्प नरहेको भन्दै उनले सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई विचलित नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।







प्रतिक्रिया