बिर्तामोड । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा झापाको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको कार्यालय परिसरमा आयोजित रक्तदान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाली सेना अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप अनुसन्धान निर्देशक उमेश पाण्डे र नेपाल रेडक्रस सोसाइटी झापाका जिल्ला सभापति लोकराज ढकाल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
रजत महोत्सवको उपलक्ष्यमा सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेक्वा झापाले पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया, विपन्न परिवारलाई राहत, पूर्व पश्चिम झण्डा मार्च, भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक तथा मैत्रीपूर्ण खेल, पुरातात्विक तथा मठ मन्दिरहरुमा बृहत सरसफाई, बक्तृत्वकला कार्यक्रम र स्थानीय स्तरमा जनचेतनामूलक कक्षा संचालन जस्ता बिभिन्न कार्यक्रमहरु समेत संचालन गरिएको छ । उक्त रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेक्वाका गणपति सहित ४८ जना र अन्य सुरक्षा निकायका १३ जना गरी जम्मा ६१ जना कर्मचारीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेको सूचना अधिकारी सप्रनाउ रोहित बहादुर घिमिरेले जानकारी दिए ।







प्रतिक्रिया