मुख्य समाचार

दमकको शानदार जित, बाह्रदशी वाकओभरबाट अघि बढ्यो

दमकको शानदार जित, बाह्रदशी वाकओभरबाट अघि बढ्यो


शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले प्रभावशाली जित दर्ता गरेको छ ।

निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा जर्सी नम्बर ८ का खेलाडी दिपेन्द्र घिमिरे, जर्सी नम्बर १८ का खेलाडी भोजकुमार थुलुङ र जर्सी नम्बर १३ का खेलाडी रोशन तामाङले १–१ गोल गरे। उत्कृष्ट प्रदर्शनका आधारमा दिपेन्द्र घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा हल्दिबारी गाउँपालिका सहभागी हुन नआएपछि बाह्रदशी गाउँपालिका वाकओभरका आधारमा अर्को चरणमा प्रवेश गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत माघ १२ गते दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल बिहान ११ः३० बजे कनकाई नगरपालिका र कचनकवल गाउँपालिकाबीच तथा दोस्रो खेल दिउँसो २ः३० बजे मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने आयोजकले जानकारी दिएको छ ।

यसअघि माघ १० गते सम्पन्न खेलहरूमा गौरीगन्ज गाउँपालिकाविरुद्ध विर्तामोड नगरपालिकाले तथा गौरादह नगरपालिकाविरुद्ध कचनकवल गाउँपालिकाले प्रोटेष्ट दर्ता गराएका थिए । ती उजुरीहरूको निर्णय आज टुंगिएसँगै गौरीगन्ज र कचनकवल गाउँपालिकाले खेल खेल्न पाउने भएका छन् । यससँगै भोलिदेखि नियमित खेल तालिका अनुसार प्रतियोगिता अगाडि बढ्ने आयोजकले जनाएको छ ।

तालिका अनुसार माघ १३ गते सेमिफाइनल र माघ १४ गते फाइनल खेल सञ्चालन हुनेछन् । प्रतियोगिता माघ ९ गतेदेखि शिवसताक्षी नगरपालिका–स्थित दूधे रंगशालामा जारी छ ।

शेयर गर्नुहोस :

54
Shares