Banner news

झापामा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी

झापामा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी


बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी भएको जानकारी दिएकी छन् । उनले जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइन् ।

भर्खरै सरुवा भएर झापामा जिम्मेवारी सम्हालेको बताउदै खड्काले संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्ने बताइन् । उनले शान्ति सुरक्षाको प्रवन्धमा कुनै कमजोरी नहुने जानकारी गराएकी छन् ।

मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी दिदैं उनले सुरक्षालाई प्रभावकारी बनाउन मिडिया क्षेत्रको समेत भूमिका हुने उनको भनाई थियो । कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने छ ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ । थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उहाँले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताइन् । आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइने उल्लेख गरेकी छन् ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनले आग्रह गरिन् । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको बताइन् ।
प्रहरी उपरीक्षक खड्काले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी निकासी, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रण प्रहरीको प्रमुख दायित्व भएको बताइन् ।

शेयर गर्नुहोस :

162
Shares