Banner news

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँका विभिन्न स्थानमा विगत ३ महिनादेखि गरगहना तथा नगद लुटपाटमा संलग्नलाई पक्राउ गरिएकोबारे जानकारी गराउनुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ, १५ माघ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ”, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो । त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उहाँको भनाइ छ ।

प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिनुभयो । “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।”

प्रमुखथापाले निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना सङ्कलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पार्नुभयो ।

शेयर गर्नुहोस :

81
Shares