Banner news

झापा प्रहरीको ‘ज्यादती’ का कारण औद्योगिक महोत्सव स्थगित

झापा प्रहरीको ‘ज्यादती’ का कारण औद्योगिक महोत्सव स्थगित


बिर्तामोड । झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव प्रहरी प्रशासनको हस्तक्षेपका कारण स्थगित भएको छ । झापा उद्योग वाणिज्य संघले प्रहरीको ज्यादतीका कारण महोत्सव निर्धारित मितिअघि नै समापन गर्नुपरेको जनाएको छ । महोत्सव स्थगित भएपछि आयोजकले करोडौँ रुपैयाँ बराबरको आर्थिक घाटा व्यहोर्नुपरेको संघको दाबी छ ।

शुक्रबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको असहयोगका कारण महोत्सव अघि बढाउन नसकिएको बताए । उनले भर्खरै सरुवा भएर आउने प्रहरी उपरीक्षकको कारण महोत्सवलाई नकारात्मक दृष्टिले हेरिएको आरोप लगाए ।

माघ ७ गतेदेखि सुरु भएको महोत्सव भद्रपुर नगरपालिकाको मुख्य संरक्षणमा सञ्चालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइए पनि सुरुमा समय खुलाइएको थिएन । तर माघ १३ गते प्रशासनले पत्र पठाउँदै बेलुका ७ बजेसम्म मात्र कार्यक्रम गर्न निर्देशन दिएपछि महोत्सव प्रभावित भएको संघको भनाइ छ ।

आयोजक पक्षले माघ १४ गते न्यूनतम समय बेलुका १० बजेसम्म कायम गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाए पनि प्रशासनले पुनः ९ बजेसम्म मात्रै अनुमति दिएको थियो । संघका अनुसार साँझपछि मात्र दर्शकको भीड बढ्ने भएकाले यो समय सीमा व्यवहारिक नभएको हो ।

संघको आरोपअनुसार प्रहरीहरूले साउण्ड सिस्टमको प्लग निकालिदिने, पिङ चढिरहेका सर्वसाधारणलाई झारिदिने, कलाकारको प्रस्तुति रोकिदिने जस्ता गतिविधि गरे । यसले महोत्सवमा त्रासको वातावरण बनेपछि निर्धारित मितिअघि नै समापन गर्नुपर्ने अवस्था आएको राईले बताए ।

भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले प्रशासनको निर्णय कार्यान्वयन नगरी प्रहरीले हस्तक्षेप गर्नु गलत भएको बताए । “समस्या भए छलफलबाट समाधान खोज्नुपथ्र्यो,” उनले भने ।

उता प्रहरी उपरीक्षक बसुन्धरा खड्काले प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने मात्र भएको बताइन् । झापा प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले प्रशासनले दिएको समयसम्म मात्र महोत्सव सञ्चालन गर्न आग्रह गरिएको दाबी गरे ।
महोत्सवमा १२० भन्दा बढी औद्योगिक, कृषि, स्थानीय उत्पादन, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका स्टलहरू थिए । कोशी पर्यटन वर्षसँग जोडेर आयोजना गरिएको यो महोत्सव अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित सञ्चालन गरिएको थियो ।

शेयर गर्नुहोस :

378
Shares