दमक – देशै भरि निर्वाचनको माहोल बढि रहँदा झापा क्षेत्र नं. ५ को चासो अत्याधिक रहेको छ । यहाँबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहेको छ । यो क्षेत्र विगत देखिनै एमालेको सशक्त उपस्थिति र अध्यक्ष निर्वाचित हुँदै आएको क्षेत्र हो । यहि क्षेत्रको प्रमुख आदिबासी समुदायको रुपमा रहेको धिमाल जाति समेत यस बेला संगठित रुपमा एमाले तथा एमालेका उम्मेद्वार ओलीलाई निर्वाचित गराउने क्रियाशिल रहेको छ ।
धिमाल जातिय विकास केन्द्रका राष्ट्रिसभा सचिव मणिराज धिमाल अनुसार अन्य राजनीतिक दलको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक रूपमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ । त्यसैले यहाँको धिमाल समुदाय एमालेको पक्षमा एक ढिक्का रहेको उहाँ बताउनु हुन्छ । धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र राजनीतिक प्रतिनिधित्वका सवालमा नेकपा एमालेले प्रारम्भिक चरणदेखि नै अग्रसर भूमिका खेलेको समुदायका उहाँको भनाइ छ ।

युवा पुस्ता झनै दृढ
धिमाल समुदायका अगुवाहरूका अनुसार आगामी निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई आफ्नो पहिचान, सम्मान र अधिकारको संरक्षणसँग पनि जोडिएको छ । यही कारण उनीहरू नेकपा एमालेको विजयलाई आफ्नो भविष्य सुरक्षित गर्ने राजनीतिक आधारका रूपमा हेरेका छन् । नयाँ पुस्ताका युवाहरुमा समेत एमाले प्रतिको विश्वासनै बलियो पाईन्छ । दमक ४ की सलिना धिमाल राजनीतिक चेतना विस्तारदेखि नेतृत्व विकाससम्म एमालेले धिमाल समुदायलाई अवसर दिएको आफुले सानै देखि देखेको बताउनु् हुन्छ । त्यसैले धिमाल समुदायको युवा पुस्ता पनि एमाले प्रति दृढ रहेको उहाँले बताउनुभयो ।
पूर्वी नेपालको आदिवासी समुदायका रूपमा परिचित धिमाल जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा विशिष्ट पहिचान बोकेको समुदाय हो । झापा, मोरङ र सुनसरीका केही भू–भागमा सघन बसोबास रहेको यस समुदायले लामो समयदेखि राज्यसत्तासँग आफ्नो अस्तित्व, अधिकार र सहभागिताका सवाल उठाउँदै आएको छ । यही क्रममा धिमाल समुदायका अगुवाहरू संगठित रूपमा नेकपा एमालेको विजयको पक्षमा उभिएका छन् ।
एमालेकै प्रयासमा प्रथम नागरिक घोषणा
१५० वर्ष भन्दा अघिनै पूर्वी नेपालका दर्जनौ बस्ति धिमाल समुदायले जंगल फाँडेर, बन्यजन्तुसँग लडेर बसालेको इतिहास छ । मानव बस्ति विकासमा यो समुदायको यहि योगदानको कदर गर्दै स्थानीय तहको पहिलो निर्वाचनपछि एमाले नेतृत्वको स्थानीय सरकारले धिमाल समुदायका व्यक्तिलाई ‘प्रथम नागरिक’ घोषणा गर्यो । शुरुमा दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरे पनि यो अभ्यास झापा र मोरङ्का अन्य स्थानीय तह सम्म पुगेको छ । यसले धिमाल समुदायको आत्मसम्मानमा दिर्घकालिन सकारात्मक सन्देश दिएको छ ।
यसले धिमाल समुदायको पहिचानलाई सार्वजनिक रूपमा स्थापित गर्नुका साथै राज्य संरचनामा उनीहरूको सम्मान र स्वीकार्यतालाई समेत उजागर गर्यो । तर, गत भदौ महिनामा ‘जेनजी’को नाममा भएको आन्दोलनका क्रममा दमक नगरपालिका परिसरमा राखिएको धिमाल समुदायको प्रथम जातिको स्मारक तोडफोड गरिनु समुदायका लागि गहिरो चोटको पारेको छ । उक्त घटनापछि यस क्षेत्रका धिमाल समुदायको मन कुँडिएको र असुरक्षाको भावना बढेको अगुवाहरू बताउँछन् ।
अभिभाज्य सम्वन्ध
धिमाल समुदायका अगुवाहरु नेकपा एमाले र धिमाल समुदाय विच अभिभाज्य सम्बन्ध रहेको बताउँछन् । धिमाल जातिय विकास केन्द्रमा लामो समय अध्यक्ष भएर काम गर्नु भएका रामबहादुर धिमाल यो समुदायको विकास, राजनीतिक पहुँच स्थापना र सशक्तिकरणमा एमालेनै पहिलो राजनीतिक शक्ति रहेको बताउनुहुन्छ । यस्तै राजनीतिक अवसरहरु प्रदान गर्ने, नीति निर्माण तहमा पहुँच पुर्याउन सहयोग गर्ने काम समेत एमालेले गर्दै आएको उहाँले बताउनुभयो । यस काममा खास गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै विशेष पहल र चासो रहने गरेको पाएको उहाँले उल्लेख गर्नु भयो ।
त्यसैले अहिले मात्र नभई वर्षौ देखिनै झापा क्षेत्र नं. ५ मा तथा झापा र मोरङ्का हरेक धिमाल बस्तिमा एमालेको पक्षमा जनमत रहेको उहाँले बताउनु भएकोछ । उहाँ नेकपा एमालेको तर्फबाट दुई पटक जनप्रतिनिधी समेत भई सक्नु भएको छ ।
यस्तै नेकपा एमालेकै तर्फबाट निर्वाचित भई दमक नगरपालिकाको उपप्रमुख समेत भई सक्नु भएका लोकबहादुर धिमाल यस्तो पृष्ठभूमिमा धिमाल समुदायको सघन बसोबास रहेको झापा क्षेत्र नं. ५ मा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति समुदायको राजनीतिक भरोसा बलियो रहेको बताउनु् हुन्छ । आगामी निर्वाचनमा यही क्षेत्रबाट अध्यक्ष ओली उम्मेद्वार रहनु धिमाल समुदायका लागि राजनीतिक रूपमा महत्वपूर्ण विषय बनेको उहाँले उल्लेख गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनदेखि नै एमालेको तर्फबाट धिमाल समुदायका प्रतिनिधिहरू निर्वाचित हुँदै आएका छन्, जसले समुदाय र पार्टीबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको उहाँको अनुभव छ ।
आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार झापा र मोरङ् प्रमुख थातथलो रहेको धिमाल जातिको जनसंख्या २०७८ को जनगणना अनुसार २५ हजार ६ सय ४३ रहेको छ । प्रकृति पुजक धिमाल जातिमा प्रथाजनित संस्कारका कारण आपसी सद्भाव र विश्वास समेत बलियो पाईन्छ । धिमाल जाति आदिबासी जनजातीका रुपमा सुचिकृत रहेको छ ।







प्रतिक्रिया