मुख्य समाचार

निर्वाचन जितेर जग्गा धनीपुर्जा उपलब्ध गराइदिन माग

निर्वाचन जितेर जग्गा धनीपुर्जा उपलब्ध गराइदिन माग


झापा । झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न नेकपा (एमाले) बाहेक अन्य विकल्प नरहेको बताएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन् । भेटका क्रममा उनीहरूले आगामी दिनमा पनि निर्वाचन जितेर आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको बताए । उनले भने, “हामी आयोग गठन गरेर काम सुरु गर्छौँ, तर अरू सरकार आएपछि त्यसलाई भत्काइदिन्छन् । काम त आखिर हामीले नै गर्नुपर्ने हो ।”

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले शनिबार कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग भलाकुसारी गरेका थिए । सो क्रममा स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका कामहरू अघि बढेको बताएका थिए ।

स्थानीयबासीहरूले एमाले र अध्यक्ष ओलीको कुनै विकल्प नरहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचन जिताउने बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares