बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकाभित्रका ४ सय ९२ जना निलो परिचयपत्रवाहक अपाङ्गता भएका नागरिकको स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको छ ।
नगरपालिकामा सोमवार आयोजित अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमअन्तर्गतको पालिका स्तरीय अर्धवार्षिक समीक्षा कार्यक्रममा नगरप्रमुख गोम्देनले रातो परिचयपत्र भएका अपाङ्गता भएका व्यक्तिलाई राज्यले निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइरहे पनि निलो परिचयपत्र भएका नागरिक उक्त सुविधाबाट वञ्चित रहेको उल्लेख गर्दै आफूले व्यक्तिगत खर्चमा स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको हो ।

उहाँले नगरपालिकाभित्रका सबै निलो परिचयपत्रवाहक अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य बीमा सेवामा आबद्ध हुन आह्वान पनि गर्नुभयो ।
अपाङ्गता स्वावलम्बी समाज अर्जुनधाराका अध्यक्ष पवन अधिकारीले नगरप्रमुखको घोषणाले अपाङ्गता भएका नागरिकहरूमा ठूलो उत्साह र भरोसा जगाएको बताउनुभयो । नगरप्रमुखले व्यक्तिगत लगानीमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । साथै, मिलिजुली समूहमार्फत अपाङ्गता भएका नागरिकलाई संगठित गर्ने कार्यप्रति खुशी व्यक्त गर्नुभयो ।
हाल अर्जुनधारा नगरपालिकामा नगरपालिका, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ ।
करुणा फाउन्डेसनका पालिका संयोजक सुरेन्द्र गिरीले जनप्रतिनिधिले व्यक्तिगत पहलमा अपाङ्गता भएका नागरिकको स्वास्थ्य बीमा गरिदिने घोषणा संभवत नेपालमै पहिलो भएको बताउनुभयो । करिब पाँच सय नागरिकले प्रत्यक्ष लाभ लिने भएकाले नगरप्रमुख गोम्देनको यो कदम अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाइ छ । साथै, नगरप्रमुखले लोकसेवा पढ्न चाहने अपाङ्गता भएका नागरिकका लागि निःशुल्क अध्ययन कक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको जानकारी पनि उहाँले दिनुभयो ।
अपाङ्गता स्वावलम्बी समाज अर्जुनधाराका अध्यक्ष अधिकारीका अनुसार हाल अर्जुनधारा नगरपालिकामा जम्मा १ हजार २ सय ५० जना अपाङ्गता भएका नागरिकको पहिचान भइसकेको छ । तीमध्ये २ सय ८५ जना रातो परिचयपत्रवाहक र ४ सय ९२ जना निलो परिचयपत्रवाहक रहेका छन् ।
नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलिजुली समूहका सदस्यहरू नगरपालिकाका सबै वडाबाट सहभागी भएका थिए । कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, कार्यक्रमका फोकल पर्सन तथा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुर्यमाला पन्धाकसहित विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया