गौरीगञ्ज । लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो गौरीगञ्ज गाउँपालिका–२ आपगाछीस्थित दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटीलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा स्कुटी पछाडि सवार झापा कमल गाउँपालिका–५ बस्ने अन्दाजी ४० वर्षीय सुर्य बहादुर विकको साथबाट प्लास्टिकबाहेक ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पदार्थ बरामद भएपछि स्कुटी चालक झापा कमल गाउँपालिका–५ बस्ने २२ वर्षीय संजोक राईसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले लागूऔषध, स्कुटी र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । लागूऔषध ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालन हुँदै आएको बताइएको छ ।







प्रतिक्रिया