झापा । झापाको बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–बिर्तामोड सडक खण्डबाट भन्सार छली गरी ल्याइएका विभिन्न मालसामानसहित एक भारतीय मारुती भ्यान नियन्त्रणमा लिइएको छ ।
बिहीवार बिहान करिब ८ बजे भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको डब्लुबी ७४ डब्लु १२९६ नम्बरको मारुती भ्यानलाई अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा भन्सार छली गरी ल्याइएका सामान फेला परेको हो ।
टोलीले गाडीमा लुकाइछिपाइ ल्याइएका विभिन्न अटो पाट्र्स तथा अन्य सामग्री बरामद गरेको जनाएको छ । बरामद सामानमा ब्रासिलिङ प्याकेट, हाईड्रोलिक जग सेट, डोर मेसिन, गेज पाइप, केबल टाइट, विभिन्न प्रकारका डोर कब्जा, आउट ह्याण्डल, सिफ्टिङ च्यानेल, वाइपर ह्याङ्गर, बर्नेट ह्याङ्गर, म्याट, एक्सल मल्टिलक, डिजेल पाइप, तेल कपलिङ, एलइडी लाइट, इप्सन मसी, हर्न, फ्युल गेजलगायतका सामग्री रहेका छन् ।
यसैगरी प्रहरीले सुजुकी मारुती भ्यानसमेत नियन्त्रणमा लिइएको छ । बरामद गाडी तथा सामानको कुल अनुमानित मूल्य रु. १० लाख ६८ हजार ५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान र सवारी साधन आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टामा पठाइएको जनाइएको छ ।







प्रतिक्रिया