बिर्तामोड – हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिर्तामोडले आज कर्मचारीहरूलाई AML/CFT सफ्टवेयर सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले डेटम सिस्टम्स प्राइभेट लिमिटेड द्वारा विकास गरिएको सहकारीका सदस्यहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी हुनबाट रोक्ने ‘ट्रस्टएमएल सिस्टम’ सेवा लिएपछि कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था तथा सफ्टवेयर सञ्चालन विधिका विषयमा जानकारी प्रदान गराएको हो।

कार्यक्रममा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दत्त दाहाल को प्रमुख सहजीकरण रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) राजेन्द्र प्रसाद गैतम ले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका समिति, उपसमिति, उच्च व्यवस्थापन समूह, सेवाकेन्द्र प्रमुख तथा लेखा फाँटका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संस्थाका तालिम विभाग प्रमुख वेद प्रकाश दवाडीले गर्नुभएको थियो।
संस्थाले उक्त सेवा लिएपछि अत्यन्त सरलिकृत रूपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ तथा सहकारी विभागले समय–समयमा जारी गर्ने निर्देशनबमोजिम सदस्यको पहिचान (KYM), अभिलेख व्यवस्थापन तथा जोखिम निर्धारण गर्न सकिनेछ। सदस्यको पेशा, स्थान, व्यवसायको प्रकृति, सहकारीबाट प्रदान गरिने सेवा र डेलिभरी च्यानेलका आधारमा जोखिम मूल्याङ्कन गर्न सकिने व्यवस्था रहेको छ।
यदि कुनै सदस्य उच्च जोखिमयुक्त, उच्चपदस्थ व्यक्ति (PEP) वा त्यस्तो व्यक्तिको परिवार/सम्बद्ध व्यक्ति देखिएमा अथवा कारोबार शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्न सकिनेछ।
यसका अतिरिक्त, ‘ट्रस्टएमएल सिस्टम’ प्रयोगमार्फत सहकारी संस्थाले वित्तीय जानकारी इकाईको GoAML प्रणालीमा सीमा कारोबार, शंकास्पद कारोबार तथा शंकास्पद गतिविधि प्रतिवेदन सहज रूपमा विद्युतीय माध्यमबाट पठाउन सक्नेछन्।
कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुशासन अभिवृद्धि गर्न प्रविधिमैत्री प्रणालीको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै ‘ट्रस्टएमएल सिस्टम’ कार्यान्वयनले संस्थालाई अझ विश्वसनीय र कानुनसम्मत बनाउने विश्वास व्यक्त गर्नुभयो।







प्रतिक्रिया