बिर्तामोड । इन्टरनेट सेवा प्रदायक नेपलिंक कम्युनिकेशन प्रा.लि. ले आफ्नो ८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ । कम्पनीले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवको अवसरमा विशेष अफर तथा इन्टरनेट सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन उप्रेती तथा कर्पोरेट निर्देशक युवराज चापागाईं ले वार्षिकोत्सवका कार्यक्रम तथा आगामी योजनाबारे जानकारी दिनुभयो । उहाँहरूले कम्पनीको स्थापना करिब आठ वर्षअघि चार जना साझेदारको संयुक्त पहलमा भएको उल्लेख गर्दै प्रारम्भिक चरणमा वायरलेस इन्टरनेटमार्फत सेवा सुरु गरिएको बताउनुभयो । पछिल्लो समय कम्पनीले फाइबर प्रविधिमा विस्तार गर्दै ग्राहकलाई छिटो तथा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कम्पनीका अनुसार आधुनिक प्रविधिअन्तर्गत ५ जी राउटर प्रयोग गरी उच्च गति र स्थिर इन्टरनेट सेवा प्रदान गरिँदै आएको छ । हाल नेपलिंकले इलाम, झापा, मोरङ र पाँचथर जिल्लामा कर्पोरेट तथा घरायसी ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका अकाउन्ट हेड विनमले कम्पनीको वार्षिक आय सन्तोषजनक रूपमा बढिरहेको जानकारी दिँदै आगामी दिनमा वित्तीय व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै सेवा विस्तारको योजना अघि बढाइने बताउनुभयो । उहाँका अनुसार कम्पनीले भविष्यमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यका साथ दीर्घकालीन वित्तीय योजना तयार गरिरहेको छ ।
वार्षिकोत्सवको अवसर पारेर कम्पनीले ८ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । यस क्रममा ग्राहकका लागि ‘मेगा ८ सेल’ नामक विशेष अफर पनि सार्वजनिक गरिएको छ । उक्त योजनाअन्तर्गत ८ हजार ८ सय ८८ रुपैयाँमा १८ महिनासम्मको नयाँ इन्टरनेट जडान सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर वार्षिकोत्सव अवधिभर अर्थात् ८ दिनसम्म लागू हुने र प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नयाँ जडान सेवा प्रदान गरिने बताइएको छ ।
यसका साथै वार्षिकोत्सव कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीहरूको सम्मान तथा प्रशंसा कार्यक्रम पनि आयोजना गर्ने भएको छ । सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न विद्यालयहरूमा इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि कम्पनीले जनाएको छ ।







प्रतिक्रिया