कृषि

मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित


मेचीनगर – पछिल्लो समय झापाको मेचीनगर क्षेत्रका किसानहरू सिमल तरुलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँझो तथा सिँचाइ सुविधा नभएका जमिनमा पनि राम्रो उत्पादन हुने र थोरै लगानीमा नगद आम्दानी हुने भएकाले किसानहरू यो खेतीतर्फ लागेका हुन्।

मेचीनगर–७ का किसान राजु श्रेष्ठले एक वर्षअघि १५ कठ्ठा जमिनमा सिमल तरुल खेती गरी करिब एक लाख रुपैयाँ बराबरको आम्दानी गरेको बताए। यस वर्ष उनले खेती विस्तार गर्दै एक विगाहा जमिनमा सिमल तरुल लगाएका छन्।

स्थानीय टंकप्रसाद खनालका अनुसार धान, मकै वा अन्य अन्नबालीको तुलनामा सिमल तरुल खेती गर्न सजिलो र कम मेहनत लाग्ने भएकाले किसानको आकर्षण बढेको हो। उनले पनि यस वर्षबाट १५ कठ्ठा जमिनमा व्यावसायिक रूपमा सिमल तरुल खेती सुरु गरेका छन्।

मेचीनगर–७ का धनकुटे र तामाङ बस्तीका धेरै किसानले पनि करेसाबारी तथा बाँझो जमिनमा सिमल तरुल खेती विस्तार गरिरहेका छन्। बजारमा माग बढ्दै गएपछि स्थानीय व्यापारीसँगै सीमावर्ती भारतका व्यापारी समेत किसानकै खेतमा पुगेर खरिद गर्ने गरेका छन्।

किसानहरूका अनुसार सिमल तरुल किसानको बारीबाट प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। पुसदेखि फागुनसम्म यसको खरिदबिक्री बढी हुने र माघे सङ्क्रान्तिको समयमा माग झनै बढ्ने गर्दछ।

कृषकहरूले स्थानीय सरकारले उत्पादनको स्थिर बजार र मूल्य सुनिश्चित गर्न सहयोग गरे सिमल तरुल खेती किसानको मुख्य आम्दानीको स्रोत बन्न सक्ने बताएका छन्।

शेयर गर्नुहोस :

54
Shares