मुख्य समाचार

अवैध कपडा सहित दुई टेम्पो र चालक नियन्त्रणमा

अवैध कपडा सहित दुई टेम्पो र चालक नियन्त्रणमा


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगान क्षेत्रमा प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शंका लागेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा टेम्पोभित्र पर्दा, साडी, कुर्था–सुरुवाल, ढाका लगायत विभिन्न प्रकारका कपडाहरू फेला परेका थिए । उक्त कपडाहरूको अनुमानित मूल्य करिब ५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मे १ ह ६३५५ नम्बरको टेम्पो चालक मेचीनगर नगरपालिका–७ बस्ने ४० वर्षीय सुबिन्द्र जोगी तथा मे १ ह ७२९४ नम्बरको टेम्पो चालक भोजपुर हतुवागढी गाउँपालिका–५ घर भई हाल मेचीनगर–७ बस्दै आएका ३५ वर्षीय भमदल राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका टेम्पो र चालकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस :

0
Shares