मनकुमार गदाल
दमक – क्यानडामा अध्ययनरत एक नेपाली विद्यार्थी रोशनी कुमालको मृत्युको खबरले झापाको दमकस्थित उनको परिवार शोकमा डुबेको छ।
दमक नगरपालिका–५, यलम्बर चोक निवासी २३ वर्षीया कुमालको गत चैत ४ गते (मार्च १८) क्यानडाको टोरन्टो शहरमा मृत्यु भएको खबर प्राप्त भएपछि परिवार शोकाकुल बनेको हो। रोशनी चैत १ गते (मार्च १४) देखि परिवारसँग सम्पर्कविहीन थिइन्।

सोही वडाका छिमेकी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भेषराज भट्टराईमार्फत अशुभ खबर प्राप्त भएपछि परिवारले क्यानडास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। त्यसक्रममा टोरन्टोको एक अस्पतालमा रोशनीको शव रहेको पुष्टि भएको मृतकका मामा शम्भु कुमालले जानकारी दिए।
अढाई वर्षअघि अध्ययनका लागि क्यानडा गएकी रोशनीले दुई वर्षको अध्ययन पूरा गरी वर्क परमिटको प्रक्रियामा रहेको अवस्थामा मृत्यु भएको जनाइएको छ। तर, मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन।
क्यानडास्थित नेपाली दूतावासका काउन्सिलर नितेश सापकोटाले शव आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइरहेको आश्वासन दिएको परिवारले जनाएको छ। यद्यपि, घटना भएको चार दिनसम्म क्यानडेली प्रशासनले के अनुसन्धान गरिरहेको छ भन्नेबारे दूतावाससमेत स्पष्ट नभएको भन्दै परिवारले गुनासो गरेको छ।
परिवारले नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयले सक्रिय पहल गरी घटनाको सत्यतथ्य छानबिन गर्न, क्षतिपूर्तिको व्यवस्था मिलाउन र शव चाँडो नेपाल ल्याउन सहयोग गरिदिन माग गरेको छ।
रोशनीको शव नेपाल ल्याउन करिब १० देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका सन्तोष दाहालले ‘गोफण्डमी’मार्फत सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएको शम्भु कुमालले बताए।
आर्थिक अवस्था कमजोर रहेको कुमाल परिवारले रोशनीको अध्ययनका लागि करिब ६०–७० लाख रुपैयाँ ऋण लिएको र अझै ऋण तिर्न बाँकी रहेको जनाएको छ। परिवारकी एकमात्र छोरी रोशनीको असामयिक निधनले उनका बुवा जीवराज कुमाल, आमा शान्ता कुमाल तथा आफन्तहरू गहिरो शोकमा रहेका छन्।
यस विषयमा बुझ्दा प्राविधिक प्रक्रियाअनुसार काम भइरहेको र मन्त्रालय परिवारसँग सम्पर्कमै रहेको परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागका कन्सुलर अधिकृत रमेश गैरेले जानकारी दिएका छन्।







प्रतिक्रिया