काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकाको त्रिभुवन विश्वविद्यालय परिसरमा मरेको भेटिएका कागमा बर्डफ्लुको सङक्रमण पुष्टि भएको छ ।
कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मरेको फेला परेका ६८ वटा काग सङ्कलन गरी हिजो पुरेको छ । मरेका सबै काग हिजो सङ्कलन गर्न नसकिएकाले आज पनि सङ्कलन गरी पुर्ने काम गरिने नगरपालिकाको पशुसेवा प्रमुख सुशीला गैरेले बताउनुभयो । उहाँका अनुसार शाखामा एक हप्ताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए । परीक्षणका लागि १० वटा मरेका काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मरेका कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिनुभयो ।
डुलुवा पंक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने उहाँको अनुमान छ ।







प्रतिक्रिया