बिर्तामोड । झापा बिर्तामोडको मुक्तिचोकमा रहेको स्तम्भ हटाएको विषयलाई लिएर संरक्षक तथा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । सोमवार विहान बिर्तामोडस्थित खालिङ चौतारीमा आयोजित छलफलमा सरोकारवालाहरुले आपत्ति जनाउदै स्तम्भ भत्काउनेहरुको विरोध जनाए ।
शनिवार राती कालिका जेभीले २०४६ सालको जनआन्दोलनको प्रतिक मेटाएको अगुवाहरुको भनाई छ । विना जानकारी मुक्तिस्तम्भ भत्काएकोमा विरोध जनाउँदै निर्माण समितिका संयोजक गोपाल कुमार बस्नेतले यसको पुर्नस्थापना अनिवार्य भएको बताए । उनले जसले भत्कायो उसैले निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

चोकको नामाकरण गर्ने वरिष्ठ अधिवक्ता लीला उदासीले मुक्तिचोक भत्काएको घटनाले आफूलाई अत्यन्तै दुखित बनाएको स्पष्ट पारे । उनले पूर्वाधार निर्माणका क्रममा हटाउनु नै परे पनि सरोकारवालाहरुलाई जानकारी नदिनु बेठिक भएको बताए । स्तम्भको महत्व नबुझेकै कारण स्तम्भमा डोजर लगाइएको उनको धारणा थियो । उदासीले स्तम्भलाई पुनः मुक्तिचोक आसपासमा निर्माण गर्न आवश्यक भएको बताए । मुक्तिचोक सिमेन्टबाट बनेको एउटा संरचना मात्र थिएन, उनले भने – यो एउटा इतिहासको साक्षी थियो । इतिहासलाई मेटाउन हुदैन ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले मुक्तिचोकका बारेमा गत वर्षदेखि छलफल भइरहेको बताए । उनले यसको संरक्षण हुनुपर्ने मागसहित सम्बन्धित निकायमा पटक–पटक छलफल गरिएको जानकारी दिए । वर्षदिनदेखि मुक्तिचोकको संरक्षणबारे सल्लाह भइरहेको थियो, उनले भने – भत्काउने बेला कुनै जानकारी दिइएन । बाटो निर्माणका लागि भत्काउनै पर्ने थियो, उनी भन्छन्, तर स्तम्भ सुरक्षित रुपमा सार्न जरुरी थियो । असाध्यै कलाकौशलबाट सजिएको संरचनालाई जथाभावी भत्काउँदा मन मानेको छैन । ताम्रापत्रहरुमा जनआन्दोलनको प्रतिक थियो, त्यो कहाँ पुग्यो ? जस्ताको त्यस्तै उपलब्ध गराउनुपर्छ, उनले थपे । तत्काल एसियन हाइवे निर्माण पक्षले मुक्तिचोकको सम्बन्धमा सरोकारवालासँग बसेर पुर्ननिर्माणबारे छलफल गर्नुपर्ने सभापति थेवेको भनाई थियो ।
यस्तै, जलकुमार गुरुङले स्तम्भ भत्काउदा स्थानीयबासी र सरोकारवालाहरुलाई जानकारी नदिएको भन्दै आक्रोस व्यक्त गरे । उनले मुक्तिचोकको स्तम्भको महत्व नबुझ्नेहरुले बदनियतपूर्ण घटना निम्त्याएको आरोप लगाए । यो तरिका ठिक भएन, उनले भने – हामी लाखौं रुपैयाँ उठाएर स्तम्भहरु बनाउन सक्छौं, तर मुक्तिचोकको स्तम्भको भावना त्यसले सम्बोधन हुन सक्दैन ।
यस्तै, अगुवाहरु हरिचरण शिवाकोटी, सुधिर शिवोकाटीले एसियन हाइवे निर्माण गर्ने कम्पनीले मुक्तिचोकको स्तम्भ निर्माण गर्नैपर्ने माग गरेका छन् । उनीहरुले त्यहाँ भएका धातुबाट निर्मित बहुमुल्य आन्दोलनको प्रतिक जस्ताको त्यस्तै संरक्षण गरिनुपर्ने बताए ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्तम्भ भत्काउने सन्दर्भमा पर्याप्त छलफल हुन नपाएको बताइन् । उनले धेरै समयअघि भत्काउने विषयमा दलहरु, मन्त्रालयका प्रतिनिधि, निर्माण पक्षबीच कुराकानी भएको जानकारी दिइन् । अहिले स्तम्भमा रहेका मुर्तिबाहेक कुनै पनि सामग्री नगरपालिकालाई उपलब्ध नभएको उनको भनाई छ । सडक निर्माण पक्ष, सरोकारवालाबीच तत्कालै बैठक बसेर मुक्तिचोकको स्तम्भ पुर्नस्थापित गर्न आवश्यक छलफल गर्न जरुरी रहेको धारणा व्यक्त गरेकी छन् ।
०४६ मा पञ्चायत विरुद्धको आन्दोलनमा विजयी भएको घोषणा गर्दै मुक्तिचोक नामाकरण गरिएको थियो । तत्कालिन आन्दोलनका अगुवा समेत रहेका वरिष्ठ अधिवक्ता लीला उदासीले सो स्थानमा उभिएर जनताले मुक्ति पाएको घोषणा गरेका थिए । उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न राष्ट्रिसभा सदस्य अगुवा गोपाल कुमार बस्नेतको अगुवाईमा समिति बनाएर स्तम्भ निर्माण गरिएको थियो । २०६६ सालमा उक्त स्तम्भको उद्घाटन गरिएको थियो ।







प्रतिक्रिया