Banner news

बिर्तामोड बजार सातैं दिन खुल्ला गरौं, बन्द गर्ने बहस बन्द गरौं

बिर्तामोड बजार सातैं दिन खुल्ला गरौं, बन्द गर्ने बहस बन्द गरौं


प्रदीप परियार/ टिप्पणी

झापाको व्यापारिक केन्द्र बिर्तामोडमा अहिले कुन बार बन्द गर्ने भनि छलफल बहस भइरहेको छ । सोमवार बन्द हुँदै आएको बिर्तामोडमा अहिले शनिवार, आइतवार र सोमवार कुन दिन बन्द गर्ने भन्ने विषयमा व्यापारीहरुमा मतभेद छ ।

मंगलवार अतिथि सदनमा बिर्तामोड उधोग वाणिज्य संघले व्यापारीहरुलाई भेला गरेर छलफल गरेको छ । छलफलले व्यापारीहरुसँग राय सूझाव लियो । सूझावका आधारमा संघको कार्यसमितिले निर्णय गर्ने अध्यक्ष राजु न्यौपानेले जानकारी गराए । उनले सो छलफलमा ३६ वर्षदेखिको इतिहास बचाउनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले बजार बन्दको विषयलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न नहुने सूझाव दिए । अध्यक्ष न्यौपानका अनुसार बन्दका विरुद्ध कोही पनि व्यापारीहरु जानु भनेको इतिहास मेटाउन खोज्नु हो । उनले साप्ताहिक रुपमा एक दिन हुने बन्दमा व्यापारीहरुको समर्थन खोजे ।

बजारमा विभिन्न प्रकारका व्यापारहरु छन् । सबैका लागि सोमवार उपयुक्त छैन । त्यसैगरी शनिवार पनि उपयुक्त छैन । वाणिज्य संघले सोमवार भन्दै आएको बन्दमा पनि ५० प्रतिशत लागु छैन । नियमित बिर्तामोडमा किनमेल गर्न आउनेहरु बाहेकलाई बिर्तामोड कुन बार बन्द हुन्छ भन्ने विषयमा थाहा पनि छैन । अहिले पनि सोमबार बन्दको कारण कोही ग्राहक खाली हात फर्कनु परेको छैन ।

छलफलमा बिर्तामोडका व्यवसायीहरुले विभिन्न तर्कहरु राखेका थिए । शनिवार, आइतवार र सोमवारमा व्यापारीहरुको आ–आफ्नो धारणा थियो । क्वालिटी कम्प्यूटरका सञ्चालक एवम् क्यानका प्रतिनिधि दिपेश पाठकले व्यवसायको प्रकृति बुझ्न आग्रह गरे । उनले व्यवसायको प्रकृति अनुसार व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले सोमवार व्यवसाय सञ्चालन गर्दा कारबाही गर्ने विषयमा पनि प्रश्न उठाए । उनले व्यवसायीहरुले व्यवसाय चलायमान गर्न सातै दिन व्यवसाय चलाउन पाउनुपर्ने बताए । पाठक भन्छन्,‘ आर्थिक समृद्धिको लागि सातैं दिन बजार खुल्ला गर्नुपर्छ ।’ उनले क्यानमा आवद्धहरुले सहमति गरेर शनिवार बन्द गर्न थालेको जानकारी गराए ।

छलफलका क्रममा बिर्तामोड ३६ वर्षदेखि सोमवार बन्द हुँदै आएको भनियो । सोमवार बन्द गरेर धेरै व्यापारीहरु सिलिगुडीतिर लाग्छन् । ठुला व्यापारीहरु प्रायः सोमवार सिलिगुडी जान्छन् । साना व्यापारीहरुलाई व्यापारकै चिन्ता छ । उनीहरु सोमवारको बन्दबाट पनि प्रभावित छन् । ठुला व्यापारीहरुलाई एक दिनको बन्दले फरक नपर्न सक्छ, तर साना व्यापारीहरुलाई धेरै नै फरक पर्छ ।

बजारको माहोल अहिले सजिलो छैन । कोभिड र त्यसपछिको आर्थिक मन्दीले समग्र व्यापार क्षेत्र प्रभावित छ । क्रयशक्ति घटिरहेको छ, व्यापारमा खास उल्लास छैन । अहिले करको दायरामा रहेर काम गर्ने व्यापारीहरुलाई असाध्यै कठिन छ । कामदार घटाउँदा हुन्छ कि, लगानी बढाउदा हुन्छ, व्यापारीहरु तनावमा परेको देखिन्छ । यस्तो अवस्थामा वाणिज्य संघको बहस बेतुकको छ । बिर्तामोड वाणिज्य संघले बजार कुन दिन बन्द गर्ने भन्ने विषयमा छलफल गर्ने नै होइन । बजारलाई कसरी चलायमान बनाउने तर्फ बहसलाई केन्द्रीत गर्नुपर्छ । कोभिड र आर्थिक मन्दीले सुस्ताएको व्यापारलाई उठाउन बहस चलाउनु पर्छ । सामान्य किनमेलका लागि पनि पानीट्यांकी जानेहरुलाई कसरी रोक्ने ? योजना बनाउनुपर्छ । बजार बन्द होइन, कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । सोमवार बजार बन्द गर्दा कसलाई फाइदा छ ? कसैलाई पनि फाइदा छैन । व्यापार भनेको व्यापारीहरुको लागि फाइदाको विषय मात्र होइन, यो सेवा क्षेत्र पनि हो । ग्राहकले हरेक दिन व्यवसायिक सेवा पाउनुपर्छ । यस तर्फ केन्द्रीत हुनुपर्ने वाणिज्य संघको बहसको विषय सुन्दा अचम्म लाग्यो ।

बिर्तामोडको भविष्य के हो ? कसरी बिर्तामोड खतरामा पर्दैछ ? यो बहस गर्ने कि नगर्ने ? धुलावारी कसरी सुक्यो ? बिर्तामोड नसुक्ला भन्न सकिन्छ ? सकिदैन, त्यसैले बिर्तामोडमाथि अनेकौ चुनौतिहरु थपिदै गएको छ । यसबाट कसरी बिर्तामोडलाई सुरक्षित बनाउने भन्नेमा बहस सुरु गरौं । बिर्तामोडको व्यवसायिक क्षेत्रलाई पूर्वकै आकर्षित बजार कसरी बनाउन सकिन्छ ? पश्चिममा बढिरहेको दमक, इटहरी र पहाडबाट घट्दै गएको दुरी बिर्तामोडका लागि चुनौतिको विषय हो । यहाँका लागि समस्या एकातिर छ भने बहस अर्कातिर चलिरहेको छ । बिर्तामोडलाई कुनै पनि दिन बन्द नगरौं ।

शनिवार, आइतवार वा सोमवार कहिल्यै बन्द नगरौं । बजारलाई रात्रीकालिन बनाउन छलफल सुरु गरौं । सुरक्षाको प्रवन्ध मिलाऔं । विहान बरु, अलि ढिलो खोलौं । राती अवेरसम्म बजार सञ्चालन गर्ने वातावरण तयार गरौं । बजार बन्द गरिरहने हो भने यसको असर कालान्तरमा पश्चातापपूर्ण हुने छ । त्यसैले बजार बन्द गर्दै नगरौं, बजारलाई बचाउने तर्फ लागौं ।
अर्कातिर, कर्मचारीको सवाल छ । कर्मचारीको हकमा विदाको जरुरी हो । शनिवार र सोमवार कर्मचारीको रोजाईको विषय बन्न सक्दैन । आलोपालो विदा दिने हो भने कर्मचारी सातैं दिन हाजिर हुने छन् । त्यसका लागि व्यापारीहरुले पनि सुविधा दिनुपर्छ । संसारका ठुला व्यापारीहरु यस्तै मुद्दामा अल्झिएका छन् त ? छैनन्, किनभने, उनीहरुले कामको प्रणाली विकास गरेका छन् । सिस्टमबाट व्यापार गरिरहेका छन् । यहाँ पनि व्यापारीहरुले कर्मचारीको व्यवस्थापन मिलाउनुपर्छ ।

बहसमा बिर्तामोड बन्द नभए वाणिज्य संघको इज्जत मै प्रश्न उठ्छ कि जस्तो गरेर सवालहरु सार्वजनिक भएका छन् । संघको इज्जत बच्ने बजार बन्द गरेर होइन । बजारलाई चलायमान गरेर इज्जत आर्जन गर्ने हो । के सोमवार बन्द हुँदा संघ फाइदामा जान्छ ? अतिथि सदनको सबै भाडा उठ्छ ? अतिथि सदनको सबै हिसावहरु सार्वजनिक हुन्छन् ?

कर्मचारीहरुले नियमित तलव पाउन सक्छन् ? सार्वजनिक सरोकारको क्षेत्रमा वाणिज्य संघले सहयोग, मद्दत बढाउन सक्छ ? सामाजिक सेवाका लागि कबोल गरेको रकम तिर्न सक्छ ? सक्छ भने ठिकै छ । एक दिनको बन्दले संघलाई घाटामा नलैजाऔं । होइन भने, सोमवारको बन्द पनि बन्द हुनुपर्छ । सात दिनमा सातै दिन बजार खोल्न जरुरी छ । फेरि, वाणिज्य संघलाई कसैको व्यापार बन्द गर वा खुला गर भन्ने कुनै अधिकार पनि छैन । कर तिर्ने व्यापारी, लगानी गर्ने व्यापारी, कर्मचारीलाई सेवा सुविधा दिने व्यापारी, भाडा बुझाउने व्यापारी, घाटा व्यहोर्ने व्यापारी । बजार बन्द गर भन्ने वाणिज्य संघ ? यो व्यवहारिक छैन । ब्यापारीले आफ्नो पसल खालेर जतिबेलै पनि व्यापार गर्न सक्छ । त्यो व्यापारीहरुको अधिकार क्षेत्रको विषय हो ।

त्यसैले वाणिज्य संघलाई अनुरोध छ, बिर्तामोडमा व्यापार क्षेत्र चलायमान गर्न छिट्टै बहस चलाउनुहोस् । दैनिक करोडौं रुपैयाँको मालसामान भारतबाट आइरहेको छ । त्यस्ता ग्राहकहरुलाई बिर्तामोडमै किनमेलको वातावरण बनाऔं । बिर्तामोडको व्यापार क्षेत्रमा आइरहेका संकटहरुमाथि बहस चलाऔं । यहाँको व्यापार क्षेत्रमा उपभोक्ताको आकर्षणका लागि योजनाहरु बनाऔं ।

शेयर गर्नुहोस :

2.2k
Shares