Banner news

भविष्य बोकेको पूर्वीद्वार काँकरभिट्टा

भविष्य बोकेको पूर्वीद्वार काँकरभिट्टा


गगन ढकाल
झापा । काँकरभिट्टा आफैमा उत्रो लामो इतिहास भएको सहर होइन । यो सहर विशेषतः महेन्द्र राजमार्गसँगै विकसित बनेको पाउन सकिन्छ । काँकरभिट्टा मूलतः भारतका असाम, मणिपुर, मेघालय लगायत भारतका नर्थइस्ट राज्यहरु साथै पश्चिम वंगाल र सिक्कम लगायतका मानिसहरु तथा नेपालका विशेषः पूर्वी पहाडका मानिसहरु बसाइसरी आएर बनेको सहर हो । यस्तै यहाँ राजवंशी, मेचे र किसान जातिका मानिसहरुको पनि बसोबास रहेको छ । यसैले गर्दा काँकडभिट्टामा जातीय, सांस्कृतिक, भाषिक लगायतका विविधताहरु पाउन सकिन्छ ।

काँकरभिट्टाको नामकरणका विषयमा पुराना मान्छेहरुको दुई किसिमको तर्क पाउन सकिन्छ । धेरै पहिले काँकरभिट्टा सहर बन्न पहिले त्यहाँ काँकरु नामका एक जना राजवंशी बस्दथे । मूलत राजवंशीहरु जग्गालाई भिट्टा भन्दछन् । त्यसैले काँकरुको जग्गाभन्ने क्रममा आसपासका मान्छेहरुले त्यस ठाउँलाई काँकरुभिट्टा भन्न थाले । कालान्तरका काँकरुभिट्टा नै काँकरभिट्टा बन्यो ।

यस सहरलाई केही मानिसहरु काँकडभिट्टा पनि भन्दछन् । काँकडभिट्टा भन्नेहरुको धारणा अनुसार । यस भूभागमा धेरै मात्रामा गँगटा पाइन्थ्यो । गँगटालाई राजवंशीहरु काँकड भन्दछन् । काँकड नै काँकड भएको भिट्टा कालान्तरमा काँडभिट्टा बन्यो । आजभोली केही स्थानीय मानिस बाहेक सबैले लेख्दा यस ठाउँलाई काँकरभिट्टा नै लेख्छन् ।

काँकडभिट्टा वा काँकरभिट्टा जे भने पनि पूर्वी नेपालको यो सीमान्त सहर भौगोलिक रुपले बढो महत्वपूर्ण लोकेसनमा अवस्थित छ । यहाँबाट भारतको नर्थइस्ट राज्यहरु साथै आसाम, पश्चिम वंगाल र सिक्किम राज्यहरुसम्म सहज आवतजावत गर्न तथा व्यापार गर्न सकिन्छ । यस्तै भुटान र वंगलादेश पनि यहाँबाट नजिकै छ । हाल काँकरभिट्टालाई एशियन हाइवेले जोडेपछि यसको कनेक्टिभिटी आसियन अर्थात् दक्षिणपूर्वी एशियाली राष्ट्र संगठनका देशहरुसम्म पुगेको छ ।

राजा महेन्द्रको पालामा काँकरभिट्टालाई सुव्यवस्थित पूर्वी नाकाको रुपमा विकास गर्न ६० बिघा जमिन सरकारको अधीनस्थ राखिएको मेचीनगरका संस्थापक मेयर तथा संविधान सभा सदस्य रविन कोइराला बताउँछन् । उनी भन्छन्, ‘तत्कालीन समयमा ग्रामिण आवास कम्पनी तथा हालको राष्ट्रिय आवास कम्पनी बनाएर यो ६० बिघा जमिनलाई व्यवस्थित बनाउने जिम्मेवारी दिइएको थियो । तर, त्यो अख्तियारी अनुरुप कम्पनीले काम गर्न सकेन । यसले गर्दा यहाँको विकास निर्माणमा समस्या पैदा भयो र सुव्यवस्थित सहर बन्न सकिरहेको छैन ।’

काँकरभिट्टाको छिमेकी राष्ट्र भारतको सीमावर्ती राज्यहरुसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । यदाकदा राष्ट्रिय तहमै उत्पन्न समस्याहरुले भने यो भूभागमा जटिलताहरु पनि उत्पन्न गराउने गरेको पाइन्छ । यस ठाउँमा बसोबास गर्ने कयैन मान्छेहरुका एकै परिवारका सदस्यहरु पनि कोही वारी त कोही पारी बसोबास गर्दछन् ।

काँकरभिट्टा र भारतको सीमावर्ती क्षेत्रको यो तहको पारिवारिक सम्बन्ध हुँदा समेत नेपाललाई आफ्नो उत्पादन भारत तर्फ निर्यात गर्न असुबिस्ता रहेको नेता कोइराला बताउँछन् । उनी भन्छन्, ‘यो क्षेत्रको बजार मुलतः आयात केन्द्रीत छ । भारतले हामीलाई निर्यात गर्न सहज हुने किसिमको पूर्वाधार निर्माण गरेको छैन । जसले गर्दा काँकरभिट्टा बजार सोचे अनुरुप विकसित हुन समस्या भएको छ ।’

काँकरभिट्टालाई नेपाल, भारत, बंगलादेश र भुटानको संगम स्थल भन्दा फरक नपर्ने नेता कोइरालाको दावी छ । उनका अनुसार भारतले चाइनाबाट आयात गर्नुथाल्नुपूर्व भारतका विभिन्न सहरलाई चिनसँग जोड्ने सहर काँकरभिट्टा हो । उनी भन्छन्, ‘हामीले चीनसँग व्यापारिक पर्याप्त पूवार्धार निर्माण गर्न नसक्दा त्यो सम्बन्ध टुटेर गयो । हामीले अझै पनि भारत मार्फत हुँदै वंगलादेश र भुटानसँग व्यापार गर्न सके यो सहरको राम्रो सम्भावना देखिन्छ ।’

काँकरभिट्टाका युवा व्यवसायी राजु कार्की काँकरभिट्टाको विकासमा होटल व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । उनी भन्छन्, ‘काँकरभिट्टा ट्रान्जिट पोइन्ट हो । यसले यहाँबाट बाहिरिने र नेपाल भित्रिने दुवै किसिमका मानिसहरुको लागि ट्रान्जिट पोइन्टको रुपमा काम गरिरहेको छ । ति ट्रान्जिटका निम्ति आएका मानिसहरुलाई सत्कार गर्ने काम यहाँका होटलहरुले गरेका छन् ।’

काँकरभिट्टा मुलतः देशकै पर्यटन व्यवसायलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन सामर्थ राख्ने भूगोलमा अवस्थित छ । यसले आफ्नो विकास सँगसगै देशकै पर्यटन व्यवसायको विकासमा भूमिका निर्वाह गरिरहेको कार्कीको दावी छ । उनी भन्छन्, ‘यसलाई देशकै पर्यटकीय स्थलहरुलाई एड्भरटाइज गर्ने गरी पर्यटक ट्रान्जिट सहरको रुपमा पनि विकसित गर्न सकिन्छ ।’

काँकरभिट्टामा आयआर्जनको रुपमा यातायात व्यवसायको पनि निक्कै ठूलो प्रभाव राखेको छ । यहाँबाट देशभर यातायात सञ्चालन हुन्छ । साथै भारतका पनि विभिन्न सहरहरु जान यहाँबाट फ्लाइट र ट्रेनका टिकटहरु पाइन्छ । यस्तै बागडुग्रामा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको एयरपोर्टको कारण पनि काँकरभिट्टा ठूलो मात्रामा ट्रान्जिटको रुपमा विकास भएको पाइन्छ ।

व्यवसायी कार्की काँकरभिट्टाको अर्थतन्त्र नै मूलतः पर्यटकहरुले चलायमान रहेको बताउँछन् । उनी काँकरभिट्टा एउटा आइ केयरको हबकै रुपमा विकसित भइसकेको र त्यहाँ उपचार गर्न आउने हजारौँ विरामी र पर्यटकहरुको कारण यो बजार गुल्जार रहेको मान्छन् । उनी आइ केयरलाई पन्साएर काँकरभिट्टाको आधुनिक बजारको विश्लेष गरे त्यो पूणतः फेल हुने बताउँछन् । यस्तै यहाँका क्यासिनोहरुले पनि सहरलाई आर्थिक चलायमान गर्न ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

काँकरभिट्टामा उद्योग धन्दा नभए तापनि बजारको रुपमा यो बजार ट्रेडिङको रुपमा चर्चित रहेको व्यवसायी समेत रहेका मेचीनगरका पूर्वमेयर विमल आचार्य बताउँछन् । वि.सं. २०५०–०५१ साल दखि भरतको सीमावर्ती बजार पानिट्याङ्कीको वृद्धि तीब्र रुपमा भइरहेको तर, त्यसको तुलनामा काँकरभिट्टाको विकास हुन सकिरहेको छैन । पूर्व मेयर आचार्य भन्छन्, ‘६० को दशकको सुरुवातमा सामान्य टुक्रे बजार जस्तो देखिने पानिट्याङ्की आज धेरै ठूलो भइसकेको छ । जबकी काँकरभिट्टा त्यसरी बढ्न पथ्र्यो । त्यहाँ यताभन्दा सरसामान सस्तो पाइने भएकैले हाम्रो बजार बढ्न सकिरहेको छैन ।’

काँकरभिट्टामा मान्छे आउने बसोबास गर्ने र घुमफिर र सपिङ गर्ने ठाउँको रुपमा विकास गर्नुपर्ने पूर्वमेयर आचार्य बताउँछन् । यो नाका हुँदै नेपालमा ठूलो मात्रामा पर्यटकहरु भित्रिन्छन् जसले गर्दा पनि नेपाली बजार चलायमान बनेको छ । पूर्वमेयर आचार्य भन्छन्, ‘पछिल्लो समय समग्र मेचीनगर नै तारे होटलको हबको रुपमा विकसित भइरहेको छ । मेची क्राउन बनिसकेको र अन्य ३–४ वटा थप हुँदै गरेको अवस्था छ । यसले रोजगारी सिर्जना गरेको छ । करिव हजार मान्छेलाई यसले रोजगारी दिएको छ ।’

समग्र मेचीनगरलाई नै हेर्ने हो भने यहाँ उद्योगहरु फस्टाइरहेको पाइन्छ । यहाँ उद्योग करिडोरकै रुपमा विकास हुँदै गरेको र त्यसले हजारौँको संख्यामा रोजगारी उत्पादन गरेको पूर्वमेयर आचार्यको भनाई छ । यसले गर्दा काँकरभिट्टा क्षेत्रलाई व्यापारलाई स्थापित गर्न सक्ने किसिमले यसको भौतिकपूवाधारको विकास गर्नुपर्ने आचार्य बताउँछन् । उनी यहाँ ट्रन्जिटका निम्ति आएका मान्छेहरुलाई केही दिन रोक्न सहरको सौन्दर्यकरण गरिने हो भने यहाँको बजार चलाउमान हुने बताउँछन् ।

काँकरभिट्टालाई व्यापारिक केन्द्र बनाउन यसको भौगोलिक अवस्थितिको जत्तिकै भूमिका यहाँ रहेको मेची भन्सार कार्यालयले पनि खेलेको छ । तर, पारिपटीको पानिटेङ्की कस्टममा पूर्वाधारको अभाव छ । यो सवालमा सरकारले भारतसँग सहकार्य गरेर पानिटेङ्की कस्टमलाई व्यवस्थित गर्न जरुरी रहेको आचार्य बताउँछन् । उनी भन्छन्, ‘यो अन्तर्राष्ट्रिय बजार हो समानान्तर बजार विकासमा पारीपटी पनि उत्तिकै विकास गर्नुपर्ने ।’

काँकरभिट्टा विविधता युक्त सहर हो । यहाँको विविधतालाई थप सुसज्जित र व्यवस्थित गर्न सक्दा यसको ठूलो सम्भावना रहेका छन् । पारीपटी तीव्र गतिमा विस्तार भइरहेको रेलवे होस् या बाघडुग्रामा बनेको अन्तर्राष्ट्रिय क्षमताको एयरपोर्ट ति सबैले काँकरभिट्टाको सुन्दर भविष्यलाई झल्काइरहेका छन् । हामीले सीमा व्यवस्थित गर्न सके, आउने पर्यटकहरुलाई नाकाबाटै सुविधा र सम्मान दिन सके, सिटिरिक्सा र होटल सञ्चालकहरुको संस्कार र व्यवहारलाई परिष्कृत गर्न सके यस नाकाले देशकै पर्यटन र व्यापार दुवैलाई उचाईमा पु¥याउने सामार्थ राख्छ । यस्तै यो सहर खुला नाकाको समस्याले भने अछुतो छैन । काँकरभिट्टाको विकासमा राज्यले मुलतः लागु औषध नियन्त्रणमा विशेष जोड दिनुपर्ने देखिन्छ । नाकामा हुने अपराधलाई नियन्त्रण गर्न राज्य सजक बन्न पर्ने देखिन्छ ।

शेयर गर्नुहोस :

351
Shares