बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश गरेको छ ।
स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रिय महत्वका घटनाक्रमहरूलाई सन्तुलित तवरले प्रस्तुत गर्दै आएको यस पत्रिकाले विभिन्न आरोह–अवरोह र चुनौतीहरूलाई चिर्दै नयाँ ऊर्जा र प्रविधिकै साथ यो ऐतिहासिक माइलस्टोन पार गरेको हो ।

२०५२ साल मङ्सिर १ गतेबाट नियमित प्रकाशन सुरु भएको पूर्वाञ्चल पत्रिकाको यात्रा निकै प्रेरणादायी छ । स्थापनाकालमा सीमित लेटर प्रेसको ढाँचाबाट अगाडि बढेको पूर्वाञ्चल दैनिकले मोफसलमै पहिलोपटक अत्याधुनिक अफसेट प्रविधि भित्र्याएर नेपालको पत्रपत्रिका इतिहासमा एक महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको थियो । प्रेस काउन्सिल नेपालबाट निरन्तर ‘क’ श्रेणी प्राप्त गरी आफ्नो विश्वसनीयता साबित गरिसकेको श्रीअन्तु प्रकाशन प्रालि अन्तर्गत प्रकाशित पूर्वाञ्चल पत्रिकाले समयको परिवर्तनसँगै आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ । हाल प्रिन्ट संस्करणसँगै डिजिटल माध्यममा समेत उत्तिकै सक्रिय पूर्वाञ्चलले आफ्नै अनलाइन पोर्टल (Purwanchaldaily.com) मार्फत विश्वभर छरिएका नेपालीहरूसँग प्रत्यक्ष सम्पर्क कायम गरेको छ ।
३१ वर्षको सफल कार्यकाल पूरा गरी ३२औँ वर्षमा प्रवेश गर्दा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले आजको यो स्थानसम्म पु¥याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।







प्रतिक्रिया