एजेन्सी । असाधारण रूपमा शक्तिशाली बनेको समुद्री घटना एल निनोका कारण नेपालसहित विश्वभरि नै ठूलाे बाढी, कडा खडेरी र खाद्यान्न सङ्कटको जोखिम बढेको छ ।
जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको कीर्तिमान बनाउने सम्भावना छ ।
युरोपेली सङ्घको जलवायु अनुगमन संस्था कोपर्निकसका अनुसार, एल निनोले मानव निर्मित तापक्रम वृद्धिलाई थप तीव्र बनाएको छ । अक्टोबरमा ३३ देशले तापक्रमको कीर्तिमान बनाएका छन् ।
नेपालमा एल निनोको प्रत्यक्ष प्रभावका कारण दक्षिण–पश्चिम मनसुन कमजोर भई तराई–मधेश र पहाडी क्षेत्रमा कडा खडेरी पर्ने, खानेपानीका मुहान सुक्ने र तराईमा ‘लु’ को जोखिम रहने विज्ञहरूले बताएका छन् । सिँचाइको अभावमा हिउँदे बालीको उत्पादन घट्न गई नेपालमा कृषि क्षेत्र र राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्ने देखिएको छ ।
एल निनोका कारण पेरुमा बाढीको जोखिम बढेपछि सरकारले देशका विभिन्न भागमा आपत्कालीन अवस्था घोषणा गरेको छ । त्यहाँ ९० लाखभन्दा धेरै मानिस अर्थात् कुल जनसङ्ख्याको झन्डै एकतिहाइ बाढी र पहिरोको जोखिममा छन् । बोलिभियाले पनि यसअघि राष्ट्रिय आपत्काल घोषणा गरेको थियो ।
श्रीलङ्काले जलाशयमा पानीको मात्रा बढेपछि विद्युत् महसुल वृद्धि योजना फिर्ता लिए पनि सन् २०२७ को पहिलो ६ महिनामा गम्भीर खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ ।
यसैगरी फिलिपिन्सले एल निनोको प्रभावबाट कृषि क्षेत्रलाई जोगाउन ९८ करोड अमेरिकी डलर अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ छुट्याएको छ । त्यहाँ एल निनो र इरान युद्धका कारण इन्धन तथा मलको मूल्य बढ्दा सेप्टेम्बरसम्मको ३ महिनामा धान उत्पादन १८ प्रतिशतले घटेको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले एल निनो, बाढी र इन्धनको मूल्य वृद्धिका कारण विश्व बजारमै खाद्यान्नको भाउ बढेर कुपोषण र भोकमरी फैलिन सक्ने जनाएको छ ।
एफएओले जोखिममा रहेका २२ देशका लागि मागेको २० कराेड २० लाख अमेरिकी डलर अर्थात् ३० अर्ब २५ करोड रुपैयाँ सहयोगमध्ये २० प्रतिशत मात्र प्राप्त भएको छ ।







प्रतिक्रिया