बैशाख १४, २०८१ शुक्रबार

झापामा अक्सिजन सिलिण्डरको हाहाकार

प्रदीप परियार

विर्तामोड । झापामा पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सकिने भए पनि खाली सिलिण्डरको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । अक्सिजन उपलब्ध गराउँदा चाहिने सिलिण्डको चरम अभाव रहेको व्यवसायीको भनाई छ ।

जिल्लामा तीन वटा फर्मले मात्रै अक्सिजन उपलब्ध गराउँदै आएका छन् । विर्तामोडको जलकन्या ट्रेडर्स, कपुरी ब्रदर्श र दमकको पुनम ट्रेडर्सले अक्सिजन उपलब्ध गराउँदै आएका छन् । कोरोना भाइरसको दोस्रो लहरले अक्सिजनको माग बढेको व्यवसायीको भनाई छ । छिमेकी राष्ट्र भारतमा अक्सिजन अभावका कारण संक्रमितहरु छट्पटाएको देखेपछि नेपाली नागरिकहरु सिलिण्डर नै खरिद गरेर घरमा राख्न चाहिरहेका छन् । यहि हप्तादेखि नेपाली बजारमा अक्सिजनको माग बढ्दो छ । कतिपयले भारतको दृष्य देखेर अक्सिजन घर लगिसकेका छन् ।

झापामा करिव २ हजार सिलिण्डर मात्रै रहेको व्यवसायीको भनाई छ । जलकन्या विर्तामोडका सञ्चालक ज्योतिकुमार खरेलले सिलिण्डर अभाव भएका कारण अक्सिजनको पर्याप्त उत्पादन गर्न नसकेको जानकारी दिए । खाली सिसिण्डर लिएर आउनेलाई तत्काल अक्सिजन दिन सक्छौं, तर नयाँ दिन सक्दैनौं, खरेलले भने ।

तीन वटा फर्मले जिल्लाका अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउँदै आएका छन् । जलकन्याबाट दैनिक ३० वटासम्म सिलिण्डर भरेर पठाइन्थ्यो, खरेलले भने – अहिले हरेक दिन नयाँ ७० देखि ८० सिलिण्डरको माग छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै सर्वसाधरण समेत अक्सिजन खरिद गर्न आइरहेका छन् ।

विएण्डसीमा निर्माणाधिन प्लाण्ट

अक्सिजनको अभाव हुन सक्ने भन्दै झापाको बिएण्डसी, विर्तासिटी र मेची अस्पतालले प्लाण्ड नै राख्न तयारी गरिरहेका छन् । व्यवसायीका अनुसार अक्सिजन पर्याप्त हुने भए पनि मुख्य समस्या सिलिण्डर हो । भारतको अवस्था देखेर कतिपयले शुरुमै सिलिण्डर घरमा पुराएका छन् । व्यवसायी भन्छन्, ५ प्रतिशत सिलिक्डर शुरु मै स्टक भइसकेका छ ।

अक्सिजन सिलिण्डर लैजान कतिपयले स्वास्थ्य संस्थाको सिफारिस समेत लिएर आउने गरेको खरेल बताए । उनले शनिश्चरे अस्पताल, विएण्डसी अस्पताल र झापा नेशनल अस्पतालको सिफारिस लिएर आउनेलाई सिलिण्डर दिएर पठाएको जानकारी दिए । विरामी उल्लेख गरेर अस्पतालहरुले सिफारिस गरेपछि नदिने कुरै भएन, खरेल भन्छन् – अक्सिजन दम, किड्नी र कोभिडको विरामीलाई जरुरी हुुन्छ । मेची अस्पतालका मेसु डा .पिताम्बर ठाकुरले निमोनिया भइसकेका र अक्सिजनको मात्रा कम हुने संक्रमितलाई अक्सिजन अनिवार्य हुने जानकारी दिए । उनका अनुसार एसपीओटुको मात्रा ९० भन्दा कम भएमा अक्सिजन लगाउनुपर्छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि अधिकांशलाई अक्सिजन जरुरी पर्छ भन्ने बुझाई भएको छ । जसका कारण खाली नयाँ सिलिण्डर पाउन समस्या भइहरेको व्यवसायी बताउँछन् । माग बढ्दै गएपछि सिलिण्डर पिच्छेका मुल्य बढेको छ । ७ हजारमा पाइने सानो सिलिण्डर १२ हजार र १२ हजार पर्ने ठुलो सिलिण्डर १६ हजारसम्म पर्ने गरेको छ ।
व्यवसायीहरुले तत्काल सरकारले सिलिण्डरको आयात गर्नुपर्ने बताएका छन् । व्यवसायीले आयात गर्दा ३ महिनासम्म लाग्न सक्छ, खरेलले भने – सरकारले आयात गरे एक हप्तामा संभव हुन्छ ।

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]