बैशाख २३, २०८१ आईतबार

अझै विभेद् नसहनु

सम्पादकीय
नेपाली समाजमा अहिले पनि दलित समुदायले जातकै आधारमा विभेद् भोग्नु परेको छ । दलितले मात्र होइन, दलितसँग सम्बन्ध जोड्नेहरुले पनि उसैगरी विभेद् सहनु परेको छ । समाज परिवर्तनका हिसावले धेरै अघि बढिसकेको छ । तर, यस प्रकारका कुसंस्कार अन्त्य गर्ने मामिलामा अझै धेरै पछि छ । झापा बिर्तामोड– ४ निवासी सिता ढुङ्गानाले २१ वर्षअघि विवाह गरेर विश्वकर्माको घरमा भित्रिइन् । उनले विश्वकर्मासँग विवाह गरेकै कारण २१ वर्षदेखि दोस्रो दर्जाको नागरिकका रुपमा जीवन विताइरहेकी छन् ।

सिता ढुङ्गाना राजनीतिक कार्यकर्ता हो । अखिल नेपाल महिला संघ झापाको सहसचिवको जिम्मेवारीमा रहेकी उनले बुवाको काजक्रिया परिवारसँगै बसेर गर्न पाइनन् । बुवा वितेपछि सबै छोराछारीसँगै बसेर १३ दिने कर्म गर्नुपर्ने हो । तर, उनी बिर्तामोडमा आफ्नै निवासमा काजक्रिया गरिरहेकी छन् भने उनका दाजुभाई, दिदीबहिनी दमकमा काजक्रिया गरिरहेका छन् । विश्वकर्मा जातिसँग विवाह गरेकै कारण उनले परिवारसँग बसेर कर्म गर्न पाइनन् । मुलुकमा यतिधेरै परिवर्तन भइसक्दा पनि अहिलेसम्म सिता जस्ता महिलाहरुले दोस्रो दर्जाको जीवन विताउनु परेको छ ।

झापामा जातीय मुक्तिका लागि काम गर्ने विभिन्न संघ संगठनहरु छन् । आवद्ध राजनीतिक दल एमाले पनि छ । तर, कसैले पनि विभेद् विरुद्ध आवाज उठाएर एकै ठाउँमा बसेर काजक्रिया गर्ने वातावरण बनाउन सकेनन् । जो सितालाई भेट्न आइरहेका छन्, उनीहरु पनि विचरा भन्दै फर्किरहेका छन् । अर्थात, विभेद् विरुद्ध खुलेर कोहि पनि बोल्ने आँट गदैनन् । झापा जस्तो सचेत जिल्लामा यो हालत छ भने अन्य जिल्लाको अवस्था कस्तो होला ? सितालाई १३ दिनको काममा परिवारसँगै धार्मिक रिति पुरा गर्ने अवसर प्रदान गर्नैपर्छ । उनको त्यो अधिकार हो । आफ्नो बुबाको कर्म गर्न पनि जातकै आधारमा विभेद् सहेर बस्न कद्दापी हुदैन । त्यसका लागि सरोकारवालाले आवश्यक सहयोग गर्नैपर्छ ।

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]