बैशाख १७, २०८१ सोमबार

कनकाईमा एमालेको जीत निश्चित भइसक्यो : अग्नि खरेल

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एव्म झापा इञ्चार्ज अग्नि खरेलले नेकपा एमालेको शक्ति र एमालेप्रति जनताको लहर देखेर कांग्रेस माओवादी आत्तिएको बताएका छन् ।

एमालेसँग एक्लै चुनावमा भिड्न नसक्ने निश्चित भएरै गरेर गरिएको गठबन्धनले पार नलाग्ने उनको भनाई थियो । गठबन्धन गरेर कांग्रेस र माओवादीले महिला अधिकार र समानताको सवाललाई अवरोध पुर्याएको बताए । उनले गठबन्धनका कारण महिलाको सर्वाङ्गिण विकास नै रोकिएको दावी गरे । माओवादी र कांग्रेसले आफुहरु कमजोर भएपछि महिलालाई पनि माथि उठ्न रोकेको उनको आरोप थियो । झापामा मात्रै ९ पालिकामा महिलालाई गठबन्धनले उपप्रमुख बन्न रोकेको खरेलको भनाई छ ।

पूर्व मन्त्री समेत रहेका नेता खरेलले नेपाली कांग्रेसको पछि लागेर समाजवाद ल्याउन नसकिने ठोकुवा गरेका छन् । उनले नेकपा माओवादी केन्द्र कांग्रेसको पछि लागेर समाजवाद ल्याउने सपना देखिरहेको आरोप लगाए ।

नेकपा एमाले कनकाई – ८ को लक्ष्मीपुर चोकमा आज विहान आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको चुनावी प्रचारमा कांग्रेसका झण्डैझण्डाको बिचमा एउटा माओवादीको हसिया हतौडाको झण्डा देख्दा दया लागेर आएको खरेलको भनाई छ । कयौं चारतारे झण्डाको बिचमा माओवादीले एउटा झण्डा राख्न पाइरहेको रहेछ, नेता खरेलले भने – एउटा झण्डा राखेको देख्दा प्रचण्डको स्मरण भएको छ । विचराहरुलाई धन्न एउटा झण्डा राख्न चै दिइएछ, उनले थपे ।

उनले कनकाई नगरपालिकामा यसअघिको नेतृत्वले गरेको राम्रा काम कै आधारमा विजयी हुने बताएका छन् । कनकाईमा जनताले एमालेप्रति देखाएको मायाले जीत सुनिश्चित भएको दावी गरे ।

एमालेको तर्फबाट नेतृत्व गरेका नगर प्रमुख, उपप्रमुख लगायत अधिकांश जनप्रतिनिधिबाट कनकाईमा ऐतिहासिक काम भएको उनको भनाई थियो । कामको मुल्याङकन गरेर नै मेयर, उपमेयरलाई फेरि जनताको बिचमा उम्मेद्वार बनाएको खरेलले बताए ।

कनकाईलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउन सफल भएकै कारण कामको मूल्यांकन गरेर पार्टीले फेरि एकपटक मेयर र उपमेयरलाई दोहोर्याउने निर्णय गरेको जिकिर गरे । यस पटक पनि जनताले उहाँहरुको कामलाई विश्वास गरेर एमालेलाई नै भोट दिई जिताउनेमा आफूहरू विश्वस्त रहेको बताए ।
नेता खरेलले कृषि क्षेत्रको विकासलाई प्रविधिमैत्री बनाउदै लैजाने एमालेको लक्ष्य रहेको सुनाए । उनले कनकाईमा भदौ लगत्तै १२ सय परिवारमा वायोग्यास पुराउने तयारी गरेको जानकारी दिए ।

कोणसभालाई मेयरका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलले आफूले नगरलाई समृद्ध बनाउन सुरू गरेका आयोजनाहरुलाई पूरा गर्दै जनताको माग र आवश्यकता अनुरूप प्राथमिकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एमालेको तर्फबाट कनकाई वडा नम्बर ८ का वडाध्यक्षका उम्मेद्वार प्रेमवहादुर कटुवालले आफ्नो वडामा रहेका अधुरा बाटा, पुल, कल्र्भट जस्ता निर्माणका कार्यलाई सम्पन्न गर्दै नयाँ योजना ल्याएर समग्र वडाको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

समुन्नत नगर निर्माणका लागि कनकाईमा एमालेको जीत सुनिश्चित भएको बताइएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  ३ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]