बैशाख १७, २०८१ सोमबार

विद्यार्थीहरु शिक्षकसँग किन डराउँछन् ?

विकास तिम्सिना

म २०६०-७० सम्म विद्यार्थी जीवन पार गरेको छात्र हुँ । कुरो डरको छ, म पनि खुब डराउँथे । शिक्षक देख्दा लुक्ने, गाउँमा धुलो खेल्दै गर्दा शिक्षकले देख्दा हतारमा गई शरिर सफा गर्ने, शिक्षकसँग नजिकिनै डर लाग्ने हुन्थ्यो । जहाँ भेट्यो त्यहिँ पड्काउने सोच शिक्षकमा पक्कै हुन्न तथापि हामी अवश्य डराउथ्यौँ ।

डर भनेको खतराको संकेतमा देखा पर्ने संवेगात्मक भाव हो । डरका धेरै प्रकार र कारण छन् । यि सबको वयान गर्नु भन्दा यहाँको मुख्य बिषयमा अगाडि बढ्ने अनुमति चाहान्छु ।

म निजी विद्यालयमा कार्यरत रहेको करिव पाँच बर्षमा मैले बुझ्दा, आज पनि पहिलेका हामी जस्ता विद्यार्थी आजसम्म पनि छन् । सर्वप्रथम त शिक्षक शारिरीक रुपमा विद्यार्थी भन्दा ठूलो र बलियो झैँ देखिन्छन् । उमेर त अवश्य नै बढी हुने भयो । यसरी विद्यार्थी शिक्षकसँग डराउनुमा शारिरीक बनावटको तुलनालाई सामान्य कारणको रुपमा लिन सकिन्छ ।

दोस्रो रहेको छ, अनुशासन पालनामा कडाई । विद्यार्थीले विद्यालयमा पालना गर्नुपर्ने कुरा, उसको असल आचरण तथा नियमितता र सरसफाई लगायतका यावत कुरा अनुशासन भित्र पर्छन् । शिक्षकले विद्यार्थीलाई प्रेम देखाउन खोज्दा विद्यार्थी आफैँ टाढिनाले स्वतः उनीहरु आफैंलाई डरको डरतर्फ बिमुख हुन्छन् । प्रार्थना सभामा सरसफाई जाँच, नङ कपाल काटे नकाटेको, जुत्ता मोज्जा, टाई लगाएको नलगाएको जाँच र उक्त कुराको अभावमा दिइने सजायको कारण विद्यार्थी शिक्षकसँग सदैव डराउन बाध्य हुन्छन् ।

तेस्रो रहेको छ परीक्षाको भूत– परीक्षा शिक्षकसँग विद्यार्थी डराउनुको कारणसँग मेल नखाने भए पनि परीक्षा अवश्य नै शिक्षकसँग जोडिएको बिषय हो । किनकि हरेक विद्यालयमा परीक्षा लिने काम शिक्षकबाटै भएका छन् भन्ने कुरामा दुईमत नहोला । बिषयगत शिक्षकले कस्तो प्रश्न बनाउने हुन्, परीक्षामा कदाचित सफल बनिनँ भने मलाई के सजाय मिल्ला, शिक्षकले सोचे जस्तो नतिजा नआए के होला भन्ने मनोवादमा विद्यार्थी सधैं जेलिएका हुन्छन् अनि त परीक्षा सधैं भूत बनेर उनीहरुलाई तर्साईरहेको छ । यसरी हेर्दा त म आफैँ पनि कतै विद्यार्थीको लागि शत्रु बन्दै त छैन ?जस्तो लाग्छ । यसै बीच शिक्षाकर्मीलाई एउटा सुझाव एक पटक प्रश्न उनीहरुलाई बनाउन लगाएर आफू पनि परीक्षा दिन बस्ने कि ? वा उनीहरु के जान्दैन भन्दा पनि कुन कुरामा बढि पारखी छन् भनी खोज्ने कि ? परीक्षाको विकल्पमा अध्ययन गर्ने कि ?

अर्को अभिभावकको टिप्पणी – विद्यार्थीमा भएको कमि कमजोरी नतौलिई “मेरो बच्चाले केहि गर्न सकेनँ यसलाई जसरी पनि सुधारिदिनुहोला’’ भनेर जुन दवाव विद्यालयमा दिईन्छ तत्पश्चात शिक्षकहरु उक्त विद्यार्थीका लागि खरो भएर उत्रन्छन् । अझ नलजाई र नडराई भन्दा हाम्रा पालाका अभिभावकले त ‘यसको सास मात्र राखिदिए पनि हुन्छ ।’ भन्ने आदेश दिन्थे । यसरी विद्यार्थीको कमिकमजोरी पत्ता नलगाई उसलाई दर्बिलो क्षेप्रास्त हान्न तयार शिक्षक विद्यार्थीबाट सदैब टाढिन पुग्छ । अभिभावकहरुमा भएको भन्दा शिक्षकमा केहि न केहि चेतना अवश्य बढ्ता होला । यसका लागि विद्यार्थी भन्दा पहिला उसको परिवार र अभिभावकको मनस्थिति सुधार्न पहल गर्ने कि ?

विद्यार्थी सदैव शिक्षकको डरमा रहनुको मुख्य कारण संसारको जुनसुकै विद्यालयमा गएर खोजे पनि सजायको कारण प्रमुख बन्न पुग्छ । सजायका किसिमलाई कम गर्न शिक्षाकर्मीहरु आफैंले यस्ता बिषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । एक समुहमा एक मात्र शिक्षकसँग एक विद्यार्थी डराउँछ भनें उसका लागि त्यो समुह त झनै भयंकर सावित हुन्छ । हुन त कहिकतै विद्यार्थीहरु शिक्षकसँग झुमिएका दृष्य हाम्रा आँखाले नदेखेका होईन्न । शिक्षक वास्तवमा फूल हुन्, फूलमा काँडा अवश्य नै हुन्छ । तथापि फूलको अभिप्राय कसैलाई घोचिहाल्ने हुदैँन ।

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]