बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड वाणिज्य संघलाई जोगाऔं

सम्पादकीय

जिल्लाको ठुलो बजार बिर्तामोडमा अहिले व्यवसायीको नेतृत्व छान्ने समय आएको छ । हरेक तीन वर्षमा व्यवसायी नेतृत्व छान्ने अवसर आम व्यवसायीहरुलाई प्राप्त हुन्छ । त्यहि अवसर नजिक आइसकेको छ । बिर्तामोड वाणिज्य संघको नेतृत्व चयन गर्ने दिन फागुन १४ गते हो । त्यो दिनलाई व्यवसायीहरुले आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्ने छन् । विगतमा जस्तो यो निर्वाचनमा व्यवसायीहरुले लापरबाही गर्ने परिस्थिति छैन । जसले जिते पनि हुन्छ भन्ने व्यवसायीहरु आसन्न निर्वाचनमा सहि नेतृत्व चयन गर्ने तयारीमा छन् । किनभने, बिर्तामोड बजारलाई जोगाउन पनि असल नेतृत्वको खाँचो छ । पुरानै शैलिबाट काम गर्नेहरु दोहोरिए भने वाणिज्य संघ फेरि पनि वेकामे संस्था बन्ने छ ।

बिर्तामोडको व्यवसाय क्षेत्रलाई जोगाउन वाणिज्य संघमा असल नेतृत्व चाहिन्छ । असल नेतृत्व आम मतदाताले पहिचान गर्न आवश्यक छ । यस क्षेत्रमा जोगाउनै पर्ने संघसंस्था मध्ये एउटा महत्वपूर्ण संस्था पनि हो, वाणिज्य संघ । यहाँका कतिपय सामाजिक संघ संस्थाहरु विस्तारै विलय हुदै गइरहेका छन् । विलय हुने चरणमा संघ पनि पुग्न सक्छ । त्यसैले वाणिज्य संघ जोगाउन असल नेतृत्वको जरुरी पर्छ । व्यवसायमा सफल, व्यवसायीहरुको दुख बुझ्न सक्ने व्यक्ति मात्रै व्यवसायीहरुको नेतृत्व गर्न सक्षम हुन्छ । आम व्यवसायी मतदाताहरुले त्यस कारण असल उम्मेदवारको पहिचान गर्न सक्नुपर्छ ।

बिर्तामोडमा युवाहरुको नेतृत्व विकासमा असाध्यै ठुलो योगदान गरेको जेसीज यतिवेला आफै तनावमा छ । जेसीजमा अधिवेशन नै स्थगित गर्ने परिस्थितिको सिर्जना भयो । सबैभन्दा विधिमा चल्ने संस्था भनेर चिनिएको जेसीजमा समेत यस प्रकारको राजनीति प्रवेश गरेको छ । अझ, बिर्तामोडको जेसीजमा चरम परिवारवाद लादिएको आरोप लाग्ने गरेको छ । परिवारवादका कारण बिर्तामोडको जेसीज वर्षेनी कमजोर हुदैछ । विधिबाट चल्ने संस्थाको अधिवेशन स्थगित छ । लेडी जेसीजमा वर्षेनी विवाद छ । यस्ता संस्थाहरुलाई संरक्षण गर्नुपर्छ । आफ्नो स्वार्थ लाद्न मिल्दैन । यस्तै, अवस्था वाणिज्य संघले पनि भोग्न थालेको छ । वाणिज्य संघलाई कमजोर बाटोमा लैजान दिन हुदैन । त्यसका लागि सबै व्यवसायीहरुको ध्यानाकर्षण हुन जरुरी छ । व्यापार जोगाउनेहरुलाई वाणिज्य संघमा निर्वाचत गर्न अपरिहार्य छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  १ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]