बैशाख १८, २०८१ मंगलबार

नगर अस्पतालको सेवा थप गुणस्तरीय बनाऔं

सम्पादकीय
आम नागरिकले स्थानीय सरकार पाए पछि के–के न हुन्छ भन्ने थियो । वास्तवमा के–के पाइदो रहेछ भन्ने सवाल व्यर्थ जस्तै बन्दै गइरहेको छ । देशभर स्थानीय सरकारसँग नागरिकको चरम असन्तुष्टि छ । सिमित स्रोत र असिमित आवश्यकताले स्थानीय सरकार नागरिकको मन बुझाउन सक्ने अवस्थामा छैन । तर, केहि भएको छैन त ? त्यसो पनि होइन । स्थानीय सरकारको स्थापनापछि नागरिकले केहि त अवश्य पाएका छन् । त्यसको एउटा उदाहरण हो, नगर अस्पताल । हरेक स्थानीय तहमा अहिले नगर अस्पताल छ । जसले गरिव विपन्न परिवारलाई ठुलो राहत भएको छ ।

झापाको बिर्तामोड नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालले एक वर्ष पुरा गरेको छ । एक वर्षको अन्तरालमा ७५ हजारभन्दा धेरै नागरिकले स्वास्थ्य उपचार पाएका छन् । यहि संख्यामा निजी अस्पताल जाने हो भने ठुलो धनराशी खर्च हुन्छ । सरकारी अस्पतालमा उपचार गर्न जानेहरु आर्थिक रुपमा विपन्न परिवार नै धेरै हुन्छ । अर्को, विश्वासले उपचार गर्न जाने वर्ग हुन्छ । नगर अस्पताल सबैको साझा अस्पताल हो । नगर अस्पतालमा सबैले उपलब्ध सेवा लिन सक्ने बनाउनुपर्छ । बिर्तामोडको हकमा कुरा गर्ने हो भने दैनिक उपचार गर्न जानेको संख्या वृद्धि भइरहेको छ ।

एक वर्षमा ठुलो संख्या उपचारमा जानु अस्पतालको लागि सकारात्मक पक्ष हो । नगर अस्पतालले दिने सुविधामा नागरिकको आत्मसन्तुष्टि हो । यसलाई अझ राम्रो बनाएर लैजानुपर्छ । नगर अस्पतालमा अहिले स्त्री तथा प्रसुति रोग विशेषज्ञको सेवा उपलब्ध छ । बालरोग विशेषज्ञ, मनोरोगको उपचार नगर अस्पतालमा भइरहेको छ । सेवा सुरु भएपछि ३९ जनाले प्रसुति गराएका छन् । यो सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाऔं । नगर अस्पताल सञ्चालनमा स्थानीय सरकारले कुनै पनि कसर बाँकी राख्न हुदैन । अस्पताल अब सबैको उपचारको केन्द्र बन्न सकोस् । अस्पतालले प्रदान गर्ने सेवा प्रवाहमा थप समीक्षा गरेर आगामी दिनमा नगर अस्पताल थप जिम्मेवार बन्नै जानुपर्छ । त्यसले आम नागरिकको विश्वास जित्नेछ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]