बैशाख १४, २०८१ शुक्रबार

मागसँगै महँगियो अम्रिसो

अर्जुन राजवंशी

बिर्तामोड – पूर्वी पहाडी जिल्लाको नगदे बाली अम्रिसो (कुचो) को माग भारतमा बढेपछि मूल्य पनि वृद्धि भएको छ । पहिलेभन्दा गुणस्तर सुधारिएकाले भारतमा यसको माग उच्च रहेको व्यवसायीले बताएका छन् ।

??????????????????????????????????????????????????????????

भारतीय व्यापारीले यो वर्ष प्रतिकेजी नेपाली १ सय १० रुपैयाँसम्ममा अम्रिसो किनिरहेका छन् । यही सिजनमा गत वर्ष ८० रुपैयाँमा किनबेच भएको थियो । पोहोर कम मूल्य भएकाले समस्या परे पनि यसपालि बढेको व्यवसायी पदमप्रसाद पौडेलले बताए ।

‘यो वर्ष किसानबाट ८५ रुपैयाँ प्रतिकेजीका दरले किनिरहेका छौं,’ पौडेलले भने, ‘गत वर्ष किसानले प्रतिकेजी नेपाली ५० रुपैयाँ पाउन गाह्रो थियो । यसपालि मूल्य राम्रो पाएपछि किसान उत्साहित छन् ।’

नेपाली अम्रिसोको प्रमुख बजार भारत हो । भारतको असाममा पनि अम्रिसो उत्पादन हुन्छ । तर, यो वर्ष नेपाली अम्रिसोमा खराबी नभएको, निर्यात गर्नुअघि व्यापारीले राम्ररी सुकाउने गरेको, ग्रेडिङ गर्ने गरेकाले भारतीय व्यवसायीको रोजाइमा परेको पौडेलले बताए ।

अम्रिसो सुकाउन मौसमले पनि राम्रो साथ दिएकोले सिजनमै भारत निर्यात गर्न पाएको उनको भनाइ छ । पौडेल एक सिजनमा १३ हजार केजीभन्दा बढी अम्रिसो भारत निर्यात गर्छन् ।
अम्रिसोको व्यापार माघ र फागुनमा बढी चल्छ । समयमै अम्रिसो थुतेर सुकाउन पाएमा वैशाखसम्म निर्यात गर्न मिल्छ ।

झापाको धुलाबारी अम्रिसोको कारोबार बढी हुने बजार हो । धुलाबारीमा मात्र अम्रिसोका १५ वटा प्रशोधन केन्द्र छन् । जिल्लाको बिर्तामोड, शनिश्चरे, दमक र मोरङको लटाङमा पनि प्रशोधन केन्द्र छन् । ‘यो वर्ष सबै कुराले साथ दिएको छ । मौसम पनि राम्रो छ । मूल्य पनि राम्रो छ,’ व्यापारी रामबाबु साहले भने । विगतमा मौसम राम्रो नहुँदा लाखौं मूल्य बराबरको अम्रिसो सुकाउन नपाउँदा बिग्रिएर नष्ट भएको उनले बताए ।

‘यो वर्ष किसानले पनि फुलाङ्गे (बोटमा बढी नफक्रिएको अवस्था) हुनुभन्दा अघि नै अम्रिसो थुतेका छन् । प्रशोधन केन्द्रमा सुकाउन र ग्रेडिङ गर्न मौसमले राम्रो साथ दिएको छ,’ साहले भने ।
अम्रिसो थुतेको दुई दिनभित्रमा सुकाउनुपर्छ । बढीमा दुई दिन सुकाएपछि ग्रेडिङ गरेर निर्यातका लागि प्याकिङ गर्न मिल्छ । नेपाली अम्रिसो भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यहरूमा जाने गरेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा पूर्वी नाका हुँदै ४२ करोड २६ लाख ५६ हजार रुपैयाँको १३ हजार २०८ टन अम्रिसो निर्यात भएको थियो ।

०७३/७४ मा ३९ करोड ८० लाख ८० हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ४४० टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांकमा उल्लेख छ ।

पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा अम्रिसो उत्पादन हुने गरेको छ । झापामा ठूलो परिमाणमा अम्रिसोको व्यापार गर्ने करिब ५० व्यवसायी छन् । मंसिरदेखि चैत महिनासम्मलाई अम्रिसोकोसिजन मानिन्छ । कान्तिपुरबाट

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]