Banner news

मेची अस्पताललाई आरटी पीसीआर मेशिन प्रदान

मेची अस्पताललाई आरटी पीसीआर मेशिन प्रदान


भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई झापाका पाँचटा रोटरी क्लवले संयुक्त रुपमा रियल टाइम पीसीआर मेशिन उपलब्ध गराएका छन् ।

रोटरीको क्लव अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२ को सहयोगमा झापाका रोटरी बिर्तामोड, रोटरी बिर्तामोड मिडटाउन, रोटरी भद्रपुर, रोटरी काँकरभिट्टा, रोटरी सुरुङ्गा र रोटरी दमकले बिहीबार मेची प्रादेशिक अस्पतालमै पुगेर संयुक्त रुपमा पीसीआर मेशिन प्रदान गरेका हुन् ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै अस्पतालको सभाहलमा आज आयोजित संक्षिप्त कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई संयुक्त रुपमा पीसीआर मेशिन हस्तान्तरण गरिएको हो ।

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता र पूर्व अध्यक्ष मीनप्रकाश मैनालीको सञ्चालनमा भएको कार्यक्रमका रोटरी डिस्ट्रिक्टका असिस्टेन्ट गभर्नर नविनकुमार श्रेष्ठ, सपना रिजाल, सेक्रेटरी सुशील रिजाल समेतको सहभागिता थियो । कार्यक्रममा जिल्लाका सबै रोटरीका अध्यक्षलगायत पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष पोर्तेलले अर्को पनि पीसीआर मेशिन प्राप्त भएकाले परीक्षणको दायरा बढ्ने नतिजाको समय घट्ने बताए । डा. ठाकुरले मेची अस्पतालमा शुल्क तिरेर परीक्षण गराउन चाहनेहरुका लागि त्यस्तो सेवा पनि शुरु भइसकेकोले अहिले प्राप्त मेशिनले थप सहयोग पुग्ने बताए ।

विश्वव्यापी महामारी नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा बढ्दै गइरहेको बेला परीक्षणको दायरा बढाउन सहयोग पुर्याउने उद्देश्यले रोटरीले देशभरि ७ वटा पीसीआर मेशिन प्रदान गर्ने निर्णय गरेअनुसार प्रदेश १ मा मेची अस्पताललाई एउटा मेशिन उपलब्ध गराइएको रोटरियन निर्मल भट्टराईले जानकारी दिए । मेशिनको मूल्य सरदर १३ लाख ५० हजार रुपैयाँ रहेको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले बताए ।

शेयर गर्नुहोस :

0
Shares