Banner news

चाडवाड लक्षित किनमेलमा नेपाली नगएपछि पानीटंकी, दिगल बैंक र गलगलिया सुनसान

चाडवाड लक्षित किनमेलमा नेपाली नगएपछि पानीटंकी, दिगल बैंक र गलगलिया सुनसान


विर्तामोड । किनमेलका लागि नेपालीहरुको भीडभाड हुने भारतीय बजार पानीटंकी, दिगल बैंक र गलगलिया यतिबेला सुनसान बनेका छन् ।

झापासँग सिमा जोडिएका भारतीय बजार नेपालीसँग निर्भर हुने गर्थे । तर, कोरोना महामारीले गर्दा यो वर्षको किनमेल नेपालमै गर्नुपर्ने बाध्यता भएको छ । जसले गर्दा नेपाली व्यवसायी उत्साहित भएका छन् ।

नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जिल्लासँग सिमा जोडएका सबै बजार अहिले सुनसान भएको जानकारी दिएका छन् । उनले ती भारतीय बजार ९५ प्रतिशत नेपाली उपभोक्तासँग निर्भर हुदै आएको बताए । चाडवाड सहित अन्य समयमा समेत किनमेलका लागि नेपालीहरुको घुँइचो लाग्ने भारतीय बजार जान नमिल्ने भएपछि यहाँका बजारमा चहलपहल बढेको उनको भनाई छ । कोरोनाले गर्दा नेपाली बजारमा चहलपहल बढिसकेको छ, डालमियाले भने – विगत वर्षहरुमा यतिवेला नेपाली व्यापारीहरु पुर्पुरोमा हात राखेर बस्नुपथ्र्यो ।

केन्द्रीय सदस्य डालमियाका अनुसार झापाका बजारहरुमा किनमेल दर बढ्न थालेको छ । व्यवसायीमा समेत उत्साह बढेको उनको भनाई छ । झापाबाट विशेष गरी किरानाका सामग्री खरिद गर्न नेपालीहरु भारतीय बजार जाने गर्थे । किराना पछि लत्ता कपडा खरिद गर्न जाने नेपालीहरुको संख्या उल्लेख्य हुने गरेको थियो ।

झापाको मुख्य बजार धुलावारी, काँकरभिट्टा,बिर्तामोड, सुरुङा, दमकमा अहिले चहलपहल बढिहरेको छ । चाडवाडमा समेत गत वर्षसम्म सुनसान जस्तै हुने बजारका व्यवसायीले भारतीय बजारमा किनमेलका लागि नेपालीहरुलाई रोक्नु पर्ने धारणा राखेका छन् ।

सिमा क्षेत्रमा रहेको काँकरभिट्टा, भद्रपुर लगायतका बजारहरुमा किराना व्यवसाय गर्नेहरु खुशी भएको पाइएको छ । उनीहरु भारतीय बजारकै कारण लामो समयदेखि मारमा पर्दै आएका थिए ।

बिर्तामोडमा रहेको प्रश्ना किरानाका सञ्चालक उमेश आचार्यले सामान्य रुपमा व्यापार बढ्न थालेको बताए । उनले भारतीय बजार बन्द भएकाले विस्तारै व्यापारको गति बढ्ने अपेक्षा गरेको सुनाएका छन् ।

नेपाल–भारत आवतजावत गर्न नमिल्ने भएपछि झापासँग जोडिएका भारतीय बजारका व्यापारीले व्यवसाय नै बन्द गरेर बस्न थालेका छन् ।

शेयर गर्नुहोस :

0
Shares