Banner news

किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक

किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक


प्रदीप परियार

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० मा बसोवास गर्ने दलित परिवारको २९ कठ्ठा १६ धुर (१ करोडभन्दा बढि मुल्यको ) जग्गा हत्याउने प्रयास भएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) झापाका जिल्ला कमिटी सदस्य भद्रपुर – ९ निवासी ३७ वर्षीय खगेन्द्र पराजुली र झापा बाह्रदशी–५ घर भई हाल काठामाडौं गोकर्णेश्वर –२ बस्ने ४९ वर्षीय भेषराज थपलियाले किर्ते कागज बनाएर जग्गा हत्याउन खोजेको प्रमाण फेला परेको छ ।

जग्गाधनी गिरी दास, गणेश बहादुर दास, चन्द्रकला दास र तेज बहादुर दासको संगोलमा रहेको २९ कठ्ठा १६ धुर जग्गामा फरक–फरक कागज बनाएर जग्गा उम्काउने प्रयास भएको पाइएको छ । जग्गाधनीले प्रति कठ्ठा ३ लाख ४० हजारका दरले विक्री गरेका थिए । तर, जग्गाधनीसँग एकमुष्ट ४५ लाखमा जग्गाको मुल्य कायम गरेको कागज बनाएर अशिक्षित दलित परिवारबाट जग्गा उम्काउन खोजिएको इजलासलाई प्राप्त कागजबाट खुलेको छ । जग्गा खरिद गर्ने पराजुलीले ९ लाख रुपैयाँ बैना वापत रकम दिएको बताएका छन् । बैना ९ लाख दिएको बताए पनि २० लाख वैना दिएको कागजमा लेखिएको छ । वैना वापत दिएको ९ लाख मध्येबाट पनि ८० हजार उनीहरुले नै प्रक्रिया अघि बढाउन खर्च मागेको गिरी दासले जानकारी दिएका छन् । कागजमा अब जग्गाको तिर्न बाँकी रकम २५ लाख देखाइएको छ ।

तीन लाख ४० हजार प्रति कठ्ठाका दरले जग्गाको मुल्य ९९ लाख १४ हजार ४ सय हुन्छ । तर, कागजमा प्रतिकठ्ठा समेत नखुलाई एक मुष्ठ जग्गाको मुल्य ४५ लाख लेखिएको छ ।

जग्गा किनबेच भएको स्थानीयले थाहा पाएपछि कागज हेर्न मागेका थिए । स्थानीयले कागज हेर्दा सम्झौताभन्दा फरक लिखितम भएको पाएपछि जग्गा धनीलाई जानकारी गराए । सोहि जग्गा किनबेचका लागि बनाइएको अर्को कागजात पनि भेटिएको छ । अर्को कागजमा ४५ लाख जग्गाको मुल्य देखाएर गिरी दासका छोरा पहलमानलाई ९ लाख रुपैयाँ बैना वापत रकम दिएको खुलाइएको छ । सोहि कागजमा जग्गाधनीहरुलाई सामुहिक रकम १३ लाख रुपैयाँ पनि दिएको उल्लेख गरिएको छ । जग्गाधनीहरुका अनुसार अहिलेसम्म ९ लाखभन्दा १ रुपैयाँ पनि थप रकम लिएको छैन ।

जग्गा खरिद गर्ने मुख्य व्यक्ति पराजुली भनिए पनि तीन वटा कित्ता नं. (३४२,३३२,३३७) को जग्गा थपलियाले लिने कागजमा लेखिएको छ । ९ लाख वैना दिएको, अर्को पटक १३ लाख दिएको र बाँकी १३ लाख दिन रहेको कागजमा खुलाइएको छ । यहाँ जग्गाको मुल्य ३५ लाख मात्रै पुग्छ । कागजमा १० लाख खुलाइएको छैन ।

फेरि अर्को लिखत पनि भेटिएको छ । प्रिन्ट गरिएको कागजातको पछाडिको भागमा हस्त लिखितमा भनिएको छ, माथि उल्लेखित ४५ लाख घटाई ५३ लाख ६० हजार बाँकी रहि सोहि रकम दिई जग्गा पास गर्न राजी खुशी छौं । साक्षीमा सञ्जय दासलाई राखिएको छ । जसको हस्ताक्षर अंग्रेजीबाट गरिएको छ । उनी सामान्य साक्षर समेत नरहेको परिवारको भनाई छ । यो लेखाई हेर्दा फेरि जग्गाको मुल्य ९८ लाख ६० हजार पुग्छ । उनीहरुले पछाडिको भागमा लेखे अनुुसार ४५ लाख दिइसकेको बुझिन्छ ।

जग्गाधनीले इजलासलाई उपलब्ध गराएको नेपाली कागजमा लेखित गरिएको सम्झौतामा एक जना मात्र साक्षी राखिएको छ । पर्याप्त साक्षी राखिएको छैन, मिति पनि राखिएको छैन ।

एउटै जग्गा किनबेचका लागि ४÷५ वटा कागज फरक–फरक विवरणमा भेटिएपछि जग्गाधनीले स्थानीयवासीको सहयोगमा वडा कार्यालयमा उजुरी दिएका छन् । वडा कार्यालयले बिर्तामोड नगरपालिकालाई सो मुद्दा पठाएको थियो । नगरपालिकाले मालपोत कार्यलयलाई पत्राचार गरेर जग्गा रोक्का गर्न निर्देशन दिइसकेको छ ।

कागजात किर्ते गरेको कुरा बाहिर आएपछि जग्गा खरिद गर्ने व्यक्ति जग्गाधनी समक्ष त्रुटि भएको भन्दै आइसकेका छन् । उनले इजलाससँगको सम्पर्कमा भने, ‘मलाई थपलियाले फसाए । मैले कुनै अपराध गरेको छैन । म जग्गाको उचित मुल्य तिर्न तयार छु ।’ उक्त जग्गा छेउका अन्य जग्गा ५ लाख प्रति कठ्ठा विक्री भइरहेको स्थानीयले बताएका छन् ।

जग्गा खरिद विक्रीमा भएको जालझेल गाउँलेले समेत थाहा पाएपछि पराजुलीले खुला रुपमै आफुले ९ लाख मात्रै वैना दिएको बताउन थालेका छन् । उनले ३ लाख ४० हजार प्रतिकठ्ठाकै दरमा जग्गा लिन तयार भएको बताए । गाउँमा सो घटना व्यापक रुपमा फैलिए पछि किर्ते कागजातलाई हटाएर नयाँ सम्झौताका लागि पराजुली तयार भएको पाइएको छ । पराजुलीले भने – यदि जग्गा विक्री नगर्ने भए ९ लाखको १८ लाख पाउनुपर्छ ।

२९ कठ्ठा १६ धुरमध्ये २८ कठ्ठाको मात्र लिख गरिएको पाइएको छ । थपलियालाई पटक–पटक सम्पर्क गर्दा पनि कुरा हुन सकेन । जग्गाधनीका अनुसार उनी सम्पर्कबिहीन छन् ।

शेयर गर्नुहोस :

135
Shares