बिर्तामोड – प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल लगिएको छ । झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा आज उहाँको उपचार भएको थियो ।
उहाँका स्वकीय सचिव छत्र कडायतका अनुसार आज बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । भर्ना गर्दा जति अक्सिजन चाहिन्थ्यो साँझसम्म आइपुग्दा शरीरमा अझ बढी अक्सिजन चाहिन थालेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँको दुईवटै फोक्सोमा निमोनिया छ । अक्सिजन ज्यादा दिनु परिरहेको छ । अहिले थप उपचारका लागि काठमाडौं लगिएको छ ।’
सांसद लिङदेनलाई काठमाडौँ लैजान नेपाली सेनाको हेलिकप्टर चन्द्रगढी आएको थियो । विएण्डसी अस्पतालले उहाँलाई चन्द्रगढीसम्म पुर्याएको थियो । केही दिनअघि उहाँको कोरोना परीक्षण पनि गरिएको थियो । त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो । आज पनि उहाँको स्वाब लिइएको तर रिपोर्ट आउन बाँकी छ । विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेनले घरमै आराम गरिरहनु भएको थियो ।







प्रतिक्रिया